२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुँदै

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुँदै

735
Shares

चितवन- चितवनमा सातौँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुने भएको छ । उद्यमशीलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरूको छाता संस्थाको रूपमा रहेको चितवन उद्योग संघको आयोजना, संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवर्द्धन सहयोगमा सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० हुन लागेको हो ।
प्रदर्शन वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुने चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।
निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्टिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
प्रदर्शनीमा उद्योगहरूलाई उपयोगी हुने आधुनिक मेशिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरू, व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालकहरू, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमीका व्यवसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरू, तीनै तहका सरकारका नीति निर्माताहरू,उच्च पदस्थ अधिकारीहरू,उद्योगीका छाता संस्थाका प्रतिनिधिहरू आदि अवलोकनकर्ताको रुपमा रहनेछन् ।

प्रदर्शनी अवधिमा चितवन तथा नवलपुर क्षेत्रका होटल, पर्यटन तथा यातायात व्यवसाय पूर्ण रुपमा चलायमान हुन गइ आर्थिक कारोबार समेत बढ्न जाने हुँदा वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई गतिशिल बनाउन समेत सहयोग पुग्ने आयोजकको विश्वास रहेको छ । सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने योजना रहेको यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छीमेकी जिल्लाका स्थानीय पालिकाहरू लगायत उद्योगीका विभिन्न छाता संस्थाहरूको सहयोगी भूमिका रहेको छ ।

आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र औद्योगिक अनुभव तथा ज्ञान आदान प्रदान मार्फत उद्यमशिलताको विकासमा सहयोगी हुने अवसरका रुपमा लिइएको यस प्रदर्शनीमा लघु, घरेलु तथा साना उद्योगहरूलाई सहज र किफायती बनाउन मद्दत पुर्‍याउने साना साना औजार, मेशिनदेखि ठूला उद्योगमा प्रयोग हुने अत्याधुनिक यन्त्र उपकरणहरूबाट लाइभ प्रोडक्सन समेत गरिने भएकोले नेपालको औद्योगिक विकासमा सहयोग पुर्याउन यस प्रदर्शनी कोशे ढुंगा सावित हुने आयोजकको विश्वास छ ।
यस प्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने/नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ । उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सृजना गर्ने महत्त्वपूर्ण अवसरको रूपमा रहने यस अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाट तथा छलफल हुन गई ब्राण्डिङ्ग, लेबलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा अनुभव आदान प्रदान मार्फत ज्ञान अभिवृद्धि गर्न तथा सुमधुर व्यवसायिक सम्बन्ध स्थापित गरी स्वदेशी औद्योगिक उत्पादनको अन्तराष्ट्रिय बजारीकरणमा पहुँच पुर्‍याउने महत्त्वपूर्ण अवसर प्राप्त हुने आयोजकको विश्वास छ ।

औद्योगिक प्रबर्द्धनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकिकरणका लागि विश्वमा नै सफल र उत्कृष्ट ठहरीएका प्रविधिहरूसँग साक्षात्कारको अवसर सहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थितिमा नेपाल सरकारको औद्योगिक नीति, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसरहरूका विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट मेक इन नेपाल स्वदेशी अभियानका विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij