२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

थ्रीस्टार हाइड्रोपावरको आइपिओ खुल्यो

थ्रीस्टार हाइड्रोपावरको आइपिओ खुल्यो

1K
Shares

काठमाडौं – थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज (सोमबार)देखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख ९२ हजार ५०० कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

उक्त सेयरमा खोटाङ जिल्लाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ (साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविस) र दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं. १ देखि ७ (साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस) का बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ७३ हजार ८७५ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो। कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतममा ४ लाख ९२ हजार ५०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीहरूले ७३ हजार ८७५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

दुवै समूहका लगानीकर्ताले वैशाख २५ गतेसम्म उक्त आइपिओमा आवेदन दिन सक्नेछन्। सो अवधिसम्म सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले भने जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

स्थानीय बासिन्दाले सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयका साथै आयोजना स्थलबाट पनि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij