२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसीसी प्रिमियर कप : नेपालको शानदार जित

एसीसी प्रिमियर कप : नेपालको शानदार जित

780
Shares

काठमाडौं – नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मंगलबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित निकाल्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल मल्लले ७० रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका कुशलले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । भीम सार्कीले ९८ बलमा पाँच चौकासहित ७१ रन बनाए । यी दुईले चौथो विकेटका लागि ११२ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका थिए । जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरुवाती दबाब भएको थियो। पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए। पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे। यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक समान तीन-तीन विकेट लिए। १० ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडेन राख्दै ४८ रन खर्चिए।

नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्। समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij