काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। नवनियुक्त मन्त्रीहरूले मंगलबार दिउँसो १ बजे सपथ लिने कार्यक्रम छ।
मंगलबार नेकपा (एमाले) का ४, माओवादी केन्द्रका ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट २ जना मन्त्री बन्न लागेका छन्। एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने भएका छन् ।
माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री, अमनलाल मोदी सामान्य प्रशासन मन्त्री, सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका छन्।
जसअनुसार लिङ्देन उपप्रधानमन्त्रीसहित ऊर्जा मन्त्री बन्ने भएका छन् । यस्तै ध्रुवबहादुर प्रधान कानुन न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएका छन् भने विक्रम पाण्डे सहरी विकास मन्त्री बन्ने भएका छन् । यस्तै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा शिशिर खनाललाई पठाउने भएको छ। यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल (डिपी) लाई पठाउने तयारी छ।
पुस ११ गते प्रचण्डले प्रधानमन्त्रीको सपथ लिँदा तीन जना उपप्रधानमन्त्रीले सपथ लिएका थिए। उपप्रधानमन्त्रीहरू नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार मन्त्री, विष्णु पौडेल अर्थ मन्त्री र रवि लामिछाने गृह मन्त्री भएका थिए। सोही दिन ज्वालाकुमारी साह, दामोदर भण्डारी राजेन्द्रकुमार राई र अब्दुल खान मन्त्री बनेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij