काठमाडौं– मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो । यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएको छ ।
नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार १७३ मत पाएको छ। यस्तै, ११ लाख १९ हजार ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८५ हजार ८८७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी (जसपा) चार लाख २० हजार ९२८ मत पाउँदै छौटौँ स्थानमा छ ।
जनमत पार्टी तीन लाख ९४ हजार ३४० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १८ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५७ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij