अफगानिस्तानमा बुधबार आएको भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ। बिबिसीका अनुसार एक हजार पाँच सयभन्दा धेरै मानिस भूकम्पमा परी घाइते भएका छन्।
अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा बुधबार पूर्वाह्न साढे एक बजे ६.१ म्याग्निच्युडको भूकम्प आएको थियो। भूकम्पको गहिराइ ५१ किलोमिटर थियो। खोस्ट प्रान्त अन्तर्गत पर्ने स्पेरा जिल्ला भूकम्पबाट सबभन्दा बढी प्रभावित भएको छ। त्यसैगरी बर्माला, जिरुक, नाका र गायन जिल्ला पनि धेरै प्रभावित भएका छन्।
भूकम्पका कारण धेरै ठाउँका हजारौं भवन तथा भौतिक संरचना क्षतिग्रस्त छन्। घटनास्थलबाट गम्भीर घाइते भएकाहरूलाई वा जटिल अवस्थामा पुरिएका वा थुनिएकाहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको छ। घटनास्थलमा खोजी तथा उद्धारका लागि दर्जनौं उद्धारकर्ता परिचालित छन्।
तालिवान सरकारका प्रवक्ता जाबिउल्लाह मुजाहिदले भूकम्पबाट पीडितहरूलाई राहत तथा क्षतिपूर्ति र व्यवस्थापनका लागि सरकारले गृहकार्य गरिरहेको जानकारी दिएका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij