२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२६ अर्बको वैदेशिक लगानी स्वीकृत

२६ अर्बको वैदेशिक लगानी स्वीकृत

2.1K
Shares

काठमाडौं – प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५१ औँ बैठक सोमबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा सम्पन्न बोर्ड बैठकले दुईवटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न २५ अर्ब ९२ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

लगानी स्वीकृत हुनेमा १६ अर्ब ४५ करोड ९८ लाख लागतको दोलखा जिल्लास्थित ९९.८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ र ९ अर्ब ४७ करोड ३० लाख रुपैयाँ लागतको म्याग्दी जिल्लामा अवस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् परियोजना रहेका छन् ।
९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी जीएमआर–अपर कर्णाली हाइड्रो पावर कम्पनी लिमिटेडले २४ महिना भित्रमा वित्तीय व्यवस्थापन सम्पन्न गर्ने गरी सर्तसहित म्याद थप गर्न नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

त्यसैगरी बैठकले भेइकल म्यानुफ्याक्चरिङ एन्ड असेम्ब्ली प्लान्ट परियोजनाको विकासका लागि प्रस्तावक मोट्रेक्स कम्पनी लिमिटेडसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । बैठकले पश्चिम सेती र सेती नदी–६ संयुक्त जलविद्युत परियोजनाको विकास तथा लगानीको खाका तयार गर्ने प्रयोजनका लागि गठन गरिएको अध्ययन समितिले पेस गरेको सिफारिस सहितको प्रतिवेदन आवश्यकता अनुसार कार्यान्वयन गर्दै जाने साथै एनएचपीसी लिमिटेड, गभमन्ट अफ इन्डिया इन्टरप्राइजले उक्त परियोजना वार्ताद्वारा कार्यान्वयनका लागि दिएको निवेदनका सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद् समक्ष निर्णयका लागि सिफारिस गरेको छ ।

पश्चिम सेती पहिले अष्ट्रेलियन कम्पनी स्मेकले पाएको थियो । पटक पटक म्याद थप गर्दा पनि आयोजना अगाडि नबढेपछि इजाजत खारेज गरेर सन् २०१२ मा चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिइएको थियो । थ्री गर्जेजले पनि काम अगाडि नबढाएपछि लगानी बोर्डले पश्चिम सेती कसरी बनाउन सकिन्छ भनी अध्ययन गरेको थियो । लगानी बोर्डले पश्चिम सेती र सेती नदि ६ पनिसँगै अगाडि बढाउने हो भने दुवै आयोजना सम्भाव्य बनाउन सकिने निष्कर्ष निकालेको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले जलविद्युत् क्षेत्रमा जलाशययुक्त परियोजना विकासमा जोड दिनुका साथै परियोजना विकास तथा सञ्चालन गर्दा नेपालले गरेका अन्तराष्ट्रिय प्रतिबद्धता अनुरूप वातावरणमैत्री प्रविधिहरूको अबलम्बन गर्न निर्देशन दिए । बैठकमा अघिल्लो बोर्ड बैठकले निर्देश गरेबमोजिम परियोजना विकासका सम्बन्धमा भएका प्रगति र लगानी बोर्डको कार्यालयले अगाडि बढाएका लगानी प्रवर्द्धन लगायत अन्य गतिविधिहरूको बारेमा प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij