काठमाडौं – साविकको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडविच मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलवार सूर्योदय वोमी लघुवित्तको नाममा ७९ लाख १९ हजार ८४८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यी दुई कम्पनीविच १ बराबर १ को अनुपातमा शेयर आदाप्रदान गर्ने सहमति अनुसार कायम हुन आएको उल्लेखित शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो ।
कुल कित्ता शेयरमा साविकको वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र साविक सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता हिस्सा रहेको कम्पनीको भनाई छ । यी दुबै कम्पनीका शेयरधनीहरुसँग मर्जरअघि कायम शेयरमा कुनै परिवर्तन भएको छैन् । दुबै कम्पनीहरुका शेयरधनीहरुको शेयर कारोबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. १ हजार ३७३ दशमलव ४० मूल्य रेञ्ज तोकेको छ । सोही मूल्यरेञ्जको आधारमा कम्पनीको कारोबार खुला हुनेछ ।
गत भदौ १५ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका दुबै कम्पनीको शेयर कारोबार गत भदौ १६ गतेदेखिनै रोक्का रहेको छ । मर्जर तथा प्राप्ती प्रयोजनका लागि वर्षौ सम्म लगानीकर्ताको सम्पत्ति बन्धक बनिरहेको अवस्थामा यी कम्पनीहरुले भने प्रारम्भिक सम्झौता गरेको सात महिनामा एकिकृत कारोबार सुरु गरेका हुन । यी दुई कम्पनी एक भई चैत १९ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । मर्जर पश्चात सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिष्टर्ड कार्यालय वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नम्बर १३, साँगामा रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij