काठमाडौं- साताको पहिलो दिन आइतबार पछिल्लो समय लागतार घट्दो क्रममा देखिएको सेयर बजार आइतबार भने ४ प्रतिशत भन्दा धेरैले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ९५ दशमलव ४६ अंकले बढेर २४ सय २० दशमलव ९१ अंकमा पुगेको छ ।
नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ७४ अंकले बढेको छ । सेन्सेटिभ इन्डेक्स पनि ४ प्रतिशतले नै बढेको हो । उता कारोबार रकम पनि अढाई अर्ब नाघेको छ । दिनभर भएका ४३ हजार ४५० कारोबारबाट ६६ लाख ३९ हजार ५०४ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम २ अर्ब ५३ करोड १२ लाख ७५ हजार ५९३ रुपैयाँ पुगेको छ ।
आज कारोबार भएका १९३ कम्पनीको शेयरमूल्य बढेको छ भने एक कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १० कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने २५ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । नेप्सेका अनुसार आज नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.८९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर शेयरको भएको छ । यस कम्पनीको आज २२ करोड भन्दा बढीको कारोबार भएको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij