२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजैदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?

आजैदेखि निर्वाचन आचारसंहिता लागू, के गर्न पाइँदैन ?

3.4K
Shares

काठमाडौं – स्थानीय तह निर्वाचनका लागि आचार संहिता लागू भएको छ । निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी आचार संहिता आजकै मिति (२५ चैत) देखि लागू भएको जनाएको हो ।
आयोगले सबै राजनीतिक दलहरूलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको छ ।

आयोगले राजनीतिक दलहरूबाट हुने सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा राखिएका दलका झण्डा, चिह्न वा अन्य प्रचार प्रसार सामग्री राख्न रोक लगाएको छ । आयोगले निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न रोक लगाएको छ ।

आयोगले सामाजिक सञ्जालमा गलत भ्रामक सूचना प्रवाह गर्न, गराउन वा झुटा साइट, एकाउन्ट सञ्चालन नर्गन भनेको छ । आचार संहिताले राजनीतिक दल वा उमेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, कमिज, भेस्ट, टि-सर्ट, टोपी वा क्याप, गम्छा, माक्स, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच, दयाद जस्ता साङ्केतिक सामाग्री उत्पादन गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने व्यवस्था गरेको छ ।

राजनीतिक दल, उमेदवार तथा दलको भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला एवं निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वाक्याप, भेस्ट, टि-सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, माक्स वा लकेट लगाउन वा झोला बोक्न पनि रोक लगाइएको छ ।

आचारसंहिताको उल्लंघन भएमा हुने कारबाहीका विषयमा निर्वाचन आयोगले उल्लंघनको प्रकृति र स्वरूप हेरी सचेत गराउने, सूचना सार्वजनिक गर्ने, कानुनतः जरिबाना वा दण्ड सजायलाई कार्यान्वयन गर्ने तथा उमेदवारको उमेदवारी रद्द हुनेसम्मको कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij