काठमाडौं –जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आइतबार बाँडफाँड भएको छ । टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार भएको बाँडफाँडमा ४८ हजार ७९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।
कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरेको थियो । लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्ताबाट आवेदन मागिएको थियो ।
लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ ।
आईपिओ यसरी हेर्नुस
कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, प्रभु क्यापिटल लिमिटेडको वेभसाइट (https://www.prabhucapital.com/), जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको वेभसाइट (http://jalpamf.com/) र मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij