काठमाडौं– अर्को हप्ता ओमानमा हुने टी-२०आई सिरिजको नेपालमा प्रसारण गर्ने अधिकार एडप्याडले खरिद गरेको छ। उक्त सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्। यो फेब्रुअरी ११ तारिखदेखि १४ तारिखसम्म ओमानमा आयोजना हुँदैछ।
एडप्याडले ग्लोबल अधिकार खरिद गरेको आइटिडब्ल्यू नामक कम्पनीसँग नेपालको लागि प्रसारण अधिकार खरिद गरेको हो। नेपालमा प्रतियोगिताको प्रत्यक्ष प्रसारण हिमालय एचडी टेलिभिजन, युट्युबमा ओएसआर स्पोर्टस र दराज एपमार्फत हुनेछ। यो प्रतियोगीताको नेपाल प्रसारणमा प्रमुख प्रायोजन शंकर ग्रुपअन्तर्गतको टिभिएस अपाचेले गरेको छ।
‘कुनै नेपाली कम्पनीले विदेशी कम्पनीसँग सहकार्य गरी राइटस् खरिद गरेको यो पहिलो पटक हो। र, यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरू नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ,’ एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरीले भने, ‘विगतमा वेबसाइटबाट अपडेट लिनुपर्दा निकै गार्ह्रो हुन्थ्यो। त्यो स्थितीबाट आज अन्तराष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं।’
एडप्याड नेपालको सर्वाधिक ठुलो कन्टेन्ट निमार्ण र खरिद कम्पनी हो। एडप्याडले यसअघि नेपाल क्रिकेट टिम जर्सी प्रायोजन, नेपाल भारत मैत्रीपुर्ण फुटबल प्रतियोगीता खेल, क्रिकोणात्मक टि ट्वान्टी सिरीज, इपिएल, भ्वाइस अफ नेपाल किड्स्, सक्किगोनी, क्राइम फाइल्सजस्ता थुप्रै खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम तथा सामाग्रीहरूको निमार्ण र व्यवस्थापन गर्दै आएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij