काठमाडौं– थापाथलीस्थित नर्भिक अस्पतालले कोरोना संक्रमितको संख्या र दर घटेसँगै आफ्नो मुख्य भवनबाट आगामी फागुन १ गतेदेखि पुनः नन-कोभिड उपचार सेवा मात्र प्रवाह गर्ने भएको छ।
कोभिडको संक्रमण तीव्र भएको बेला नर्भिकले ‘कोभिड क्रिटिकल युनिट’बाहेक मुख्य भवनमा समेत कोरोना संक्रमितलाई राखेर प्रभावकारी उपचार सेवालाई निरन्तरता दिएको थियो। तर, संक्रमण घटेसँगै अस्पतालको मुख्य भवनबाट फागुन १ देखि पूर्ण रूपमा नन-कोभिड सेवामात्र प्रवाह गर्न थालिने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए। कोभिड क्रिटिकल युनिट १५ शय्याको छ।
उनका अनुसार अब नर्भिकले कोभिड संक्रमितहरूको उपचार तथा कोभिड अघि वा पछिको परामर्श सेवा अस्पतालको पार्किङ नजिकै अलग्गै निर्माण गरिएको कोभिड क्रिटिकल युनिटबाट मात्रै प्रवाह गर्नेछ। नर्भिकले केही समयअघिदेखि नेपालका निजी अस्पतालमै पहिलोपटक ‘कोभिड ओपिडी सेवा’को समेत सुरूआत गरेको थियो। सो सेवा समेत कोभिड क्रिटिकल केयरबाटै प्रवाह हुँदै आएको छ। सो सेवालाई अझ प्रभावकारी बनाइएको र निरन्तर रहने समेत मिश्रले जानकारी दिए।
उनका अनुसार नर्भिकको मुख्य भवनमा अब सामान्य अवस्थाको झैं उपचार सेवा प्रवाह हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij