२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेडियो नेसनको पहलमा चोक चोकमा कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम सुरु

रेडियो नेसनको पहलमा चोक चोकमा कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम सुरु

980
Shares

काठमाडौं – रेडियो नेसन १०३.९ मेगाहर्ज र लायन्स क्लब अफ काठमाडौं युनिफाइड नेसनको आयोजनामा ललितपुर जिल्लाका विभिन्न चोकमा कोभिड १९ विरुद्धको सचेतना कार्यक्रम सुरु भएको छ ।

पहिलो दिन ललितपुरको जावलाखेल चोकमा सचेतना कार्यक्रम गरिएको छ । लाइफलाइन हेल्थ होम केयर, महानगरीय प्रहरी परिसर ललितपुर, स्वास्थ्य कार्यालय ललितपुर, ध्रुवतारा बहुउद्देश्यीय सहकारी संस्था, प्रोत्साहनाज ब्युटि पार्लर, अष्टसिद्धि विनायक टोल विकास संस्थाको सहकार्यमा आयोजना गरिएको कार्यक्रमको पहिलो दिन मास्क नलगाई हिड्ने तथा मास्क मैलो भएकालाई करिब ७ सय मास्क वितरण गरिएको छ ।

सामुदायिक प्रहरी जावलाखेल ललितपुरको सहयोगमा बस, माइक्रो तथा मोटरसाइकल लगायत अन्य सवारीसाधनमा मास्क नलगाई यात्रा गर्नेलाई पनि मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरिएको थियो । आफू पनि सजग रहौं, अरुलाई नि सजग गराऔं भन्ने मूल सन्देशका साथ सुरु भएको यो कार्यक्रम माघ महिनाभर शुक्रबार र मंगलबार ललितपुरका विभिन्न ७ स्थानमा सञ्चालन हुनेछ । जावलाखेल चोकपछि लगनखेल, सातदोबाटो, पुल्चोक, मंगलबजार, भनिमण्डल, झम्सिखेल लगायतका स्थानमा कार्यक्रम सञ्चालन हुनेछ । यस्तै अष्टसिद्धि विनायक टोलमा भने दैनिक सचेतना कार्यक्रम हुनेछ ।
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी शरत थापाले कार्यक्रम स्थलमा उपस्थित भई सचेतना कार्यक्रम निरन्तर गर्न हौसला दिँदै आवश्यक सहयोग प्रहरीले गर्ने प्रतिवद्धता व्यक्त गरे । रेडियो नेसनका अध्यक्ष अमर अधिकारीले रेडियोले आकाशे तरंगका अलावा भौतिक रुपमै उपस्थित भएर पनि जनचेतना जगाउनुपर्नेमा जोड दिँदै सचेतना कार्यक्रमको सोच ल्याइएको बताए ।

सचेतना कार्यक्रममा वितरण हुने मास्क र स्यानिटाइजर लाइफ लाइन हेल्थ होम केयर र स्वास्थ्य कार्यालय ललितपुरले उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij