काठमाडौं – राष्ट्रियसभाको १९ पदमा हुने निर्वाचनका लागि निर्वाचन आयोगमा विभिन्न ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दिएका छन् । आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ । सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५ – ५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् ।
त्यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले २ सिटमा उम्मेदवार उठाएका छन् ।
राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरु र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ ।
विभिन्न दलका उम्मेदवारहरू उम्मेदवारी दिन प्रदेश १ मा विराटनगर, २ मा जनकपुर, वागमतीमा हेटौडा, गण्डकीमा पोखरा, लुम्बिनीमा दाङ, कर्णालीमा सुर्खेत र सुदूरपश्चिमको धनगढीस्थित निर्वाचन कार्यालय पुगेका थिए ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिनको लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ। २२ र २३ गते उजुरीउपर छानबिन हुने, २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुनेछ भने २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ।
२५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।
माघ १२ गते हरेक प्रदेशमा मतदान हुनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij