२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कवि अमर बान्तु काव्य साँझ भब्य रुपमा सम्पन्न

कवि अमर बान्तु काव्य साँझ भब्य रुपमा सम्पन्न

985
Shares

काठमाडौं- पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदैथियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो-
‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

नेपथ्यबाट कवि तथा गीतकार अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिनुसाथ मञ्चमा देखा पर्नुभयो कार्यक्रम सञ्चालिका भावना केसी । त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गनुभयो ।

समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पानुभयो । उहाँले भन्नुभयो- ‘माझ किरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाउनुभएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुनुहुन्छ ।’ उनले थपे- ‘काव्य-नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यको अगि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु । बत्ती देखाउनु भनेको पूजा गर्नु हो, अर्थात् अभिनन्दन गर्नु हो । स्रष्टा बान्तुलाई सादर अभिनन्दन गर्दछु ।’

त्यसपछि कवि अमर बान्तुलाई कार्यक्रम सञ्चालिकाले कविता/काव्य प्रस्तुतिका लागि मञ्चमा निम्त्याउनुभयो । हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गर्नुभएका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाउनुभयो शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गर्नुभयो-

‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एक तर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

मिलाप मासिकले आयोजना गरेको काव्य साँझमा करिब एक घन्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गर्नुभयोे । त्यसपछि उहाँले गजल सुनाउनुभयो- ‘नजरैले घाइते पर्ना माहिर हजुर’ । प्रेमिलो गजलबाट माहोललाई नै प्रेमिल बनाउनुभएका उहाँले मनको भावना सुनाउनुभयो गजलमै । त्यसपछि आफ्नै जिन्दगीका बारे रचना गरिएको गजल- ‘ए जिन्दगी’ सुनाएर उहाँले माहोललाई नै स्तब्ध बनाउनुभयो । अन्त्यमा ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को जगल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गर्नुभयो । दशकदीर्घाबाट आएको ‘वान्समोर…वान्समोर’लाई स्वीकार गर्दै पुनः सुनाउनुभयो- ‘मेरी प्रिय कविता ।’

प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमखी प्रतिभाका धनी भएको बताउनुभयो । उहाँले साहित्य साधनाका साथै व्यावसाय र समाजसेवामा उत्तिकै लगावका साथ लागिपरेका स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान पुग्ने विचार व्यक्त गर्नुभयोे । उहाँले भन्नुभयो– ‘बान्तुजीका रचनाहरू जस्तै उहाँमा कविता कण्ठस्त सुनाउने कला पनि बेजोड रहेछ । यो कवितालाई लोकप्रिय बनाउने सन्दर्भमा नयाँ र अनुकरणीय कुरा हो ।’

मिलाप मासिकका सम्पादक कृष्ण भुसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री तथा कवि एस्पी कोइराला, कवि श्रवण मुकारुङ र लायन्स क्बलका तर्फबाट लायन अनन्त भेटवालले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्दै स्रष्टा बान्तुको निरन्तर र सार्थक काव्य सृजनाको कामना गर्नुभयो । कार्यक्रममा बान्तुलाई मिलाप सम्मान अर्पण गरिएको थियो ।

काव्य साँझलाई माई पे, सुनकोशी कन्स्ट्रक्सन प्रा.लि, ५ नं. वडा ललितपुर महानगरपालिका, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आई, लायन्स क्लब अफ काठमाडौं, अन्नपूर्ण, लायन्स क्लब आफ आङ्ग्ना, पाँचथर, लायन्स क्लब अफ काठमाडौं, ग्लोबल सर्भिस र लायन्स क्लब अफ काठमाडौं, शुभम् तथा लायन्स हरि दाहाल, चाटर प्रेसिडेन्ट लायन्स क्लब अफ काठमाडौं, ग्लोबल आईले प्रयोजन गरेका थिए ।

अमर बान्तुको कविता तथा गीतसङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र उत्कृष्ट गीतहरूका दुई एल्बम ‘अमर भावना’ र ‘अमर भावना-२’ प्रकाशित छन् भने उहाँका धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij