२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

मुक्तिनाथ फाउण्डेशनको शुभारम्भ

680
Shares

काठमाडौं- मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ भएको छ। सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो। मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सबलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्नेछ।

आज सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको छ। फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका थिए। सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्य बारेमा आफ्नो धारणासहित स्वागत मन्तव्य राखेका थिए। यो संस्था गैरराजनीतिक, निस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिनेमा उनले जोड दिए। सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावि योजनाहरु बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्यामसुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी र गायिका सुनिता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले संस्थालाई आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । सभाको क्रममा संस्थाको सञ्चालक समितिका सदस्य सीताराम काफ्लेले शुभारम्भ कार्यक्रमका सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापनसहित सभाको समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij