२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिरो मोटोकर्पले बनायो नयाँ गिनिज वर्ल्ड रेकर्ड

हिरो मोटोकर्पले बनायो नयाँ गिनिज वर्ल्ड रेकर्ड

1.5K
Shares

हिरो मोटोकर्पले नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। कम्पनीले वृक्षरोपण गरेकाहरूको सबैभन्दा ठूलो फोटो एल्बम बनाएर नयाँ रेकर्ड बनाएको हो।
‘हिरो ग्रिन ड्राइभ’को पहलअन्तर्गत कम्पनीले १ लाख ३२ हजार ७ सय ७५ जना व्यक्तिले वृक्षरोपण गरेको फोटा संकलन गर्दै एल्बम बनाएर नयाँ विश्व रेकर्ड बनाएको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

मंगलबार अन्तर्राष्ट्रिय शून्य उत्सर्जन दिवसको अवसरमा ‘लार्जेस्ट फोटो एल्बम अफ पिपल प्लान्टिङ प्लान्ट’ को रेकर्ड घोषणा गरिएको हो।
भारतको सबैभन्दा ठूलो दुई पाङ्ग्रे निर्माता हिरो मोटोकर्पले योसँगै दुई वटा गिनिज वर्ल्ड रेकर्ड बनाएको छ। यसअघि कम्पनीले गत अगस्टमा सबैभन्दा ठूलो मोटरसाइकलको लोगो बनाएर विश्व रेकर्ड राखेको थियो। जसको लागि १८ सय ४५ वटा स्प्लेन्डर बाइक प्रयोग गरिएको थियो। यो लोगो भारतको आन्द्रा प्रदेशस्थित चित्तोरको उत्पादन प्लान्टमा बनाइएको थियो।

दोस्रो पटक विश्व रेकर्ड बनाएको अवसरमा ग्लोबल प्रोडक्ट प्लानिङ एन्ड स्ट्रेटजीका प्रमुख मालोले मेसनले सन् २०२१ हिरो मोटोकर्पको लागि निकै उत्साहपूर्ण रहेको बताए।

‘यो साल धेरै उत्साहको साथ सुरु भएको छ। हामीले १०० मिलियन सवारीको बिक्रीको स्मारकीय माइलस्टोनसँगै वर्षको सुरुवात गर्यौं। त्यसपछि हिरो ब्रान्डको १० औं वार्षिकोत्सव मनायौं। यही वर्ष सबैभन्दा ठूलो मोटरसाइकल लोगो बनाएर गिनीज वर्ल्ड रेकर्ड बनायौं। एकै दिनमा एक लाख वटा सवारी बिक्री गर्दै रेकर्ड बनायौं। र, अहिले नयाँ गिनीज वर्ल्ड रेकर्ड बनाएका छौं’, उनले भने, ‘योसँगै हिरो मोटोकर्पले आगामी दिनमा अझ सफलता पाउनेमा सकारात्मक छौं।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij