काठमाडौं– पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्।
भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको यो कलेज नेपालमा नै निजी क्षेत्रबाट सञ्चालनमा आएको पहिलो मेडिकल कलेज हो।
बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्। मणिपाल समूहसँग शुक्रबार अस्पताल खरिद बिक्री सम्झौता हुनेछ।
नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो।
अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ।
यस अस्पतालले एमबिबिएस अध्ययनका लागि वार्षिक १०० जना भर्ना गर्न अनुमति पाएको छ।
अस्पताल सञ्चालन गर्न मणिपाल समूहलाई सरकारले ४९ वर्षका लागि जग्गा भाडामा दिएको थियो।
यस अस्पतालमा ७५० बेड सञ्चालनमा छन्। १० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ। मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij