काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई बैंकको आधुनिक प्रविधिमैत्रि किसान कार्ड सहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउने भएको छ।
हिमशिखर एग्रोसँगको सहकार्यमा उक्त सुविधा दिने सम्झौता भएको हो। मेगा बैंकको तर्फबाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्य प्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत प्रकाशचन्द्र घिमिरेले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे।
हिमशिखर एग्रोसँगको सम्झौतापछि मेगा बैंकले ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कृषि सामग्रीहरु तथा बीउबिजनहरु किन्न कृषि कर्जा तथा मेगा किसान कार्ड प्रदान गर्नेछ।
मेगा बैंकका माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख खनियाले पहिलो चरणमा प्रदेश नम्बर १ का किसानहरुलाई किसान कार्डसहितको कृषि कर्जा स्थानीय शाखाहरुमार्फत छिटोछरितो ढंगले प्रदान गर्न लागिएको बताए। प्रदेश नम्बर १ पछि क्रमशः देशभरका किसानहरुलाई सेवा प्रदान गरिने उनले बताए।
किसान कार्डमार्फत कृषकहरुले आफूलाई आवश्यक कृषि सामग्रीहरु, बीऊ, मल, किटनाशक औषधि लगायतका सामानहरु तोकिएको स्थान तथा पसलहरुबाट खरिद गर्न सक्नेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij