पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्। संविधानको धारा १६८ (३) अनुसार उनी ठूलो दलको हैसियतका आधारमा गत वैसाख २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
सोही नियुक्तिका आधारमा उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । ६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्। प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चा ३, जसपाका २ र स्वतन्त्र एक सांसद छन्।
विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीमा कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाले अगाडि सारे पनि जनमोर्चाका ३ सांसद एकजुट छैनन्। विपक्षी गठबन्धनले पनि बहुमत जुटाउन गाह्रो छ। विपक्षी गठबन्धनलाई बहुमत पुर्याउन एक मत आवश्यक छ।
प्रदेशमा माधवकुमार नेपाल पक्षका एक जना मात्रै सांसद छन्। उनले मुख्यमन्त्री गुरूङलाई नै सघाउने यसअघि बताइरहेका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij