२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पुनर्निर्मित धरहराको उद्घाटन

1.7K
Shares

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् । शनिबार बिहान धरहरा रहेको स्थान सुन्धारामा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।

धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उनी बालकोनीमा पुगेका थिए । त्यहाँबाट उनले काठमाडौं उपत्यकाको दृश्यावलोकन गरेका थिए । लिफ्टबाट २० औं तलामा रहेको बालकोनीमा पुगेर प्रधानमन्त्री ओलीले पुष्पवृष्टि समेत गरेका थिए । २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।

बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । यसको अग्लाइ जमीनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।
धरहराको उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै धरहरा अवलोकन गर्न जान पाइँदैन ।

धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट संचालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ । २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने योजना समेत प्राधिकरणको छ ।
महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमसेरले पुनर्निर्माण गराएका थिए ।
२०७२ सालको भूकम्पमा पुनः भत्किएपछि सरकारले आर्थिक कोष खडा गरेर ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सुरु गरेको थियो । धरहरा पुर्निर्माणमा ३ अर्ब भन्दा बढि लागत अनुमान गरिएको र कोषबाट अपुग रकम सरकारले व्यहोर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij