काठमाडौँ – काठमाडौँ महनगरपालिकाले सिसडोल ल्याण्डफिल साइट प्रभावित क्षेत्रका लागि ६ करोड दिने भएको छ ।
फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले शिक्षक दरबन्दी पूर्तिलगायतका माग राखेर चैत १३ गतेदेखि फोहर व्यवस्थापनमा अवरोध गर्दै आएपछि कामपा र प्रभावितबीच भएको छलफलमा कामपा प्रमुख विद्यासुन्दर शाक्यले व्यवस्थापनक लागि ६ करोड दिने बताएका हुन ।
छलफलका क्रममा प्रमुख शाक्यले प्रभावित जिल्ला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँशी गाउँपालिकाका प्रत्येक पालिकाका पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षको बजेटमा तीन–तीन करोड व्यवस्था गर्ने, शिक्षक मागका सम्बन्धमा तत्काल प्रक्रिया थालनी गर्ने, प्रभावित क्षेत्रमा १५ शय्याको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने, १५ वटा शय्या र चार चिकित्सकका लागि आवश्यक रकम सहयोग गर्ने बताए ।
प्रभावित क्षेत्रमध्ये कामपाले ककनी गाउँपालिकाका लागि यसअघि एम्बलुलेन्स उपलब्ध गराइसकेको छ । प्रभावित क्षेत्रका विद्यालयमा आवश्यक तहगत र विषयगत ५१ जना शिक्षकको दरबन्दी पूरा गर्ने सन्दर्भमा नेपाल सरकारबाट स्थायी पदपूर्ति गरेपछि स्वतः हट्ने गरी तत्कालका लागि करारमा शिक्षक नियुक्त गरिने भएको छ।
छलफलमा नुवाकोट जिल्लाका प्रदेशसभा सदस्य बद्री मैनाली, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा, ककनी र धुनीबेँशी नगरको प्रभावित क्षेत्रका वडाध्यक्ष, स्थानीय राजनीतिक प्रतिनिधि र स्थानीय सरोकारवाला प्रतिनिधि सहभागी थिए ।
बञ्चरेडाँडा र कुँडुलेलाई केन्द्र मानेर मापदण्डका आधारमा वरिपरि निश्चित दूरीभित्र पर्ने व्यक्तिका जग्गा अघिग्रहण गर्नुपर्ने, फोहर वैज्ञानिक व्यवस्थापन, ओखरपौवा ल्याण्डफिल साइटको पोष्ट क्लोजरको योजना, स्थानीय पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रको प्रवद्र्धनका लागि सहयोगजस्ता विषय छलफलका मुख्य विषय हुन् । दुई वर्षका लागि भन्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij