एप्पलको पहिलो सेल्फ ड्राइभिङ इलेक्ट्रिक गाडी आउने प्रतीक्षा निकै बढिरहेको छ। कम्पनीले ‘टाइटन’ नामक प्रोजेक्ट अन्तर्गत आफ्नो पहिलो एप्पल कारका लागि टेक्नोलोजी विकास गरिरहेको चर्चा चलेको थियो। अब भने एप्पलका प्रशंसकबीच यसबारे विभिन्न अनुमान लगाउन सुरु भइसकेको छ।
हालै चलिरहेको हल्लामा एप्पलले कोरियन अटोमोबाइल कम्पनी हुन्डाइ र कियासँगको सहकार्यमा गाडी बनाउन सम्झौता भएको इन्ग्याजेटले बताएको छ।
जबकि तीन कम्पनी बीचको यो सम्झौता निश्चित रूपमा तय नभए पनि एप्पलले सन् २०२४ सम्म अमेरिकाको जर्जियास्थित किया कारखानामा पहिलो सेल्फ ड्राइभिङ इलेक्ट्रिक गाडी बनाइसक्ने अनुमान लगाइएको छ। एप्पललेपछि हुन्डाइ र कियासँगै वा अन्य अटोमोबाइल कम्पनीको सहकार्यमा पनि आफ्नो ‘एप्पल कार’ उत्पादन गर्न सक्ने इन्ग्याजेटको भनाइ छ।
सीएनबीसीका अनुसार हुन्डाइले एप्पलको लागि उत्तर अमेरिकामा इलेक्ट्रिक गाडीको प्लेटफर्म निर्माण गरिरहेको छ भने एप्पल कारमा हुने हार्डवेयर र सफ्टवेयर भने कम्पनी आफैंले बनाउने छ। एप्पलसँगको काम पछि हुन्डाइ र किया कम्पनीले भविष्यमा आफ्नै सेल्फ ड्राइभिङ वा इलेक्ट्रिक गाडी निर्माण गर्न सक्ने विश्वास राखेका छन्। एप्पल कारमा सेल्फ ड्राइभिङ फिचरसहित सेल्फ चार्जिङ फिचर पनि हुने बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij