२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिएमडब्लु सार्वजनिक भएको ११ दिनमा १२ वटा बिक्यो

बिएमडब्लु सार्वजनिक भएको ११ दिनमा १२ वटा बिक्यो

3.9K
Shares

काठमाडौं – चर्चित जर्मन कार ब्रान्ड बिएमडब्लु नेपालमा सार्वजनिक भएको ११ दिनमै १२ वटा बिक्री भएको छ। गत मंसिर २२ गतेदेखि औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भएको यो गाडी १२ वटा बिकिसकेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ। विश्वका धेरै देशमा बिएमडब्लुले ख्याती कमाए पनि नेपालमा यसको आधिकारिक बिक्रीवितरण थिएन। गत मंसिरदेखि मात्र लक्ष्मी प्रिमियमले बिएमडब्लुको आधिकारिक बिक्रीवितरण सुरू गरेको हो।

कम्पनीले हाल एक्स १, एक्स २, एक्स ३, एक्स ५ एसयूभी र ५ सिरिज तथा ७ सिरिजका गाडी बिक्री गर्ने जनाएको छ। यिनको मूल्यबारे भने कम्पनीसँगै जानकारी लिनुपर्ने कम्पनीले जनाएको छ। हाल शोरूममा गाडी हेर्न आउनेहरू बढ्दो क्रममा रहेको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक रुपेश शर्मा भट्टले जानकारी दिए। कम्पनीले गाडीहरू सिधै जर्मनी, अमेरिका र अष्ट्रियाबाट भित्र्याएको पनि भट्टले बताए।

लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको शोरुम बनाएको छ। बिएमडब्लुलाई नेपाली बजारमा स्थापित गर्न र बजारीकरण गर्न लक्ष्मी प्रिमियमले बिएमडब्लु एसिया र बिएमडब्लु बंगलादेशसँग सहकार्य गरेको कम्पनीले जनाएको छ। बिएमडब्लु बंगलादेशले नेपालमा बिएमडब्लुको बजार स्थापित गर्न बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने पूर्वाधार तयारी गर्न र ग्राहक सेवालाई प्राथमिकता दिन ‘मेन्टर’को भूमिका निर्वाह गरिरहेको कम्पनीले बतायो।

जर्मनीमा सन् १९१६ मा स्थापित बिएमडब्लुले यो क्षेत्रमा एक शताब्दी काम गरिसकेको छ। सुरूआती दिनमा एयरक्राफ्ट इन्जिन बनाउने काम गरेको कम्पनीले पछि मोटरसाइकल र गाडी उत्पादन थालेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij