डोटी-डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ सेउणीखेत पिउसिया भिरमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जिप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको, केआइसिंह गाउँपालिका–४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका–१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।
जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij