म्याग्दी- वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो। मासिक एक लाख रुपैयाँसम्म कमाइ भए पनि थापाको मन परदेशको प्रचण्ड गर्मीमा रमाउन भने सकेको थिएन। उनले सोचे, ‘यत्तिको दुःख आफ्नै देशको माटोमा गर्ने हो भने त कसो उभो नलागिएला र ?’
त्यसपछि उनी आफ्नै देशमा फर्किए। देशमा फर्किएपछि के गर्ने भन्ने हुट्हुटीले उनलाई सतायो। नसताओस् पनि किन? उनीसँग आफ्नै माटो सुहाउँदो कुनै व्यावसायिक सीप थिएन। त्यसपछि प्राविधिक सीप सिक्न उनी मुस्ताङको लेते स्थित धौलागिरि प्राविधिक शिक्षालय पुगे। शिक्षालयमा उनले १८ महिना पशु स्वास्थ्य प्राविधिक विषयमा अध्ययन गरे।
प्राविधिक ज्ञान हासिल गरेपछि उत्साहित बनेका थापाले गाउँ फर्केर व्यवसायिक बाख्रा सुरू गरे। यसरी सुरू गरेको बाख्रा पालनले अहिले उनलाई फलिफाप भएको छ। थापाले निसान बोयर बाख्रा फार्म दर्ता गरेर व्यावसायिक रुपमा उन्नत बोयर जातको बाख्रापालन सुरू गरेपछि अहिले उनको जीवनमा इराकको मरुभूमिलाई बिर्साइदिने हरियाली छाएको छ।
चार वर्ष अघिदेखि हुलाकेमा बोयर बाख्रा पाल्न सुरू गरेका थापा अहिले बोयर बाख्रा र बोकाको माग बढेपछि उत्साहित बनेका छन्। तनहुँ र धार्केबाट ल्याएका पाँच माउ र एक बोकाबाट थापाले स्थानीय खरी जातका बाख्रालाई क्रस गरेर बाख्रा पालिरहेका छन्। छिटो बढ्ने र धेरै तौल हुने बोयर बाख्रापालनप्रति कृषकको आकर्षणसँगै बोका र पाठापाठीको माग बढेको थापाको भनाइ छ। शान्त स्वभावका हुने भएकाले बोयर बाख्रा पाल्न सजिलो मानिन्छ।
करिब १० लाख रूपैयाँको लगानीमा स्थापना भएको फार्ममा हाल ३५ बाख्रा र बोका छन्। फार्ममा माउ बाख्राको सङ्ख्या बढाएर ५० वटा पुर्याउने योजना थापाको छ। पाँच महिना पालेका बोयर क्रस बोका र बाख्रालाई २० हजार रूपैयाँभन्दा बढी मूल्य लिन सकिने थापा बताउँछन्। गत वर्ष करिब २० वटा बोका र बाख्रा बिक्री गरेर करिब १० लाख आम्दानी गरेको उनले बताए।
आधुनिक किसिमको खोर बनाएका थापाले २० रोपनी जग्गामा बहुवर्षे तथा डालेघाँस खेती पनि गरेका छन्। फार्मलाई खसीबाख्रा र बोका सङ्कलन केन्द्रको रुपमा विकास गराउन भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले चार लाख अनुदान दिएको उनले बताए। कृषकहरूले उत्पादन गरेका खसी, बोका सङ्कलन गरेर फार्ममा ल्याउने र मागअनुसार बजार तथा कृषककहाँ पुर्याउने तयारी थापाले गरिरहेका छन्।
खसी बोका बिक्री गरेर वार्षिक १० देखि १५ लाखसम्म कमाउन थापा सफल भइरहेका छन्। ‘सकेसम्म खाडी मुलुक जाने नै होइन, त्यहाँ गर्ने परिश्रम आफ्नै माटोमा गर्न सक्ने हो भने १० गुणा बढी यही कमाउन सकिन्छ’, उनले भने। अहिले कोरोना सङ्कटले विदेशिन तम्तयार युवालाई अवसरको वातावरण मिलाइदिएको थापाको बुझाइ छ।
‘कोरोना कहर सुरू भएपछि युवा विदेश जान सकेका छैनन्, उनीहरुले गाउँमा नै पशुपालन, तरकारी खेती, फलफूल र कुखुरापालन सुरू गरेका छन्। यो युवा पुस्ताका लागि एउटा अवसर पनि हो’, थापाले भने।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij