२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हरियो चियापत्तीको मूल्य यो वर्षकै उच्च

हरियो चियापत्तीको मूल्य यो वर्षकै उच्च

1.5K
Shares

विराटनगर – इलाम कन्यामका चिया किसान डम्बरबहादुर कटुवाल अहिले चियाको उचित मूल्य पाउँदा दंग छन् । बन्दाबन्दीले चिया विक्रीमा समस्या होला कि भन्ने चिन्तामा रहेका कटुवालजस्तै चिया किसान उद्योगले हरियो चिया प्रतिकिलो रू. ४० मै किनिदिएपछि उत्साहित भएका हुन् ।

सूर्याेदय नगरपालिकाले नै किसानहरूको चियाको न्यूनतम मूल्य ४० रुपैयाँ तोकिदिएको छ । केही उद्योगीले चियाको मूल्य निर्धारणलाई लिएर विरोध गरे पनि प्रशोधनविनै दार्जिलिङ जान थालेपछि चिया उद्योगले किसानलाई ४० रुपैयाँ दिएर हरियो पत्ती किन्न थालेका छन् ।

इलाम र झापामा अहिले हरियो पत्ती प्रतिकेजी ४० रुपैयाँभन्दा बढीमा विक्री भइरहेको छ । अर्थाेडक्सपछि सीटीसी चियाका लागि पत्ती टिप्ने गरिन्छ । पहिलो चिया टिपाइको पत्तीबाट तेस्रो मुलुक जाने ग्रीनटी बनाउने गरिन्छ ।

त्यसपछिका टिपाइका पातबाट सीटीसी चिया बन्ने गर्छ । सबभन्दा कम गुणस्तरको पत्ती पनि प्रतिकेजी ३० रुपैयाँमा विक्री भइरहेको चिया किसानहरूले बताए ।

वैशाखबाट शुरू गरिने चिया टिपाइको सिजन साउनलाई मध्य मानिन्छ । मध्य सिजनमा सबभन्दा बढी चियाको पत्ती उत्पादन हुने भएकाले यसको मूल्य सस्तो पर्ने गर्छ । तर, यसपटक चियाको मूल्यमा गिरावट आउने बेलामै मूल्य बढेपछि किसानलाई राहत मिलेको हो ।

दुई दशकदेखि चिया व्यवसायमा संलग्न स्टार चिया उद्योग भद्रपुरका सञ्चालक शिवकुमार गुप्ता वर्षभर नै सीटीसी चिया उत्पादन गर्ने हरियो पत्तीको मूल्य २० देखि २२ रुपैयाँसम्म विक्री भइरहेकाले आफूले उद्योगका लागि किनिरहेको बताउँछन् ।

यसपटक चियाको मूल्य वृद्धि विगत वर्षभन्दा सबैभन्दा बढी भएको उनको दाबी छ । ‘हरियो पत्तीको अधिकतम मूल्य २०–२२ रुपैयाँ केजीदेखि न्यूनतम १० रुपैयाँसम्म म आफैले किनेको थिएँ । अहिलेको ४० रुपैयाँ प्रतिकेजी मूल्य हालसम्मकै उच्च हो,’ गुप्ता भन्छन् ।

उनका अनुसार भारतीय बजारमा नेपाली चियाको माग बढेसँगै हरियो पत्तीको मूल्य पनि बढेको हो ।

भारतीय व्यापारीले तयारी सीटीसी चिया प्रतिकेजी २ सय ५० देखि ३ सय रुपैयाँसम्ममा किनिरहेका छन् । जबकि गतवर्ष सीटीसी चियाको मूल्य १ सय ३० रुपैयाँ प्रतिकेजी थियो । गतवर्षको तुलनामा यो वर्षको मूल्य दोब्बर हो ।

चिया तथा कफी विकास बोर्डका सदस्य हर्क तामाङका अनुसार भारतीय बजारमा चियाको माग बढेकै कारण नेपाली चियाको मूल्य वृद्धि भएको हो । चियाको मूल्य बढे पनि उद्योगबाट किसानले चियापत्तीको भुक्तानी तत्कालै पाइरहेको तामाङले बताए । अघिल्ला वर्षहरूमा चिया उद्योगलाई विक्री गरेपछि ढिलो गरी किसानले भुक्तानी पाउँदै आएका थिए ।

बन्दाबन्दी र अनुकूल मौसमका कारण यस वर्ष बगानमा हरियो चियापत्तीको उत्पादन ५० प्रतिशतले घटेको उद्योगी रमेश पौडेल बताउँछन् । सिजनको पहिलो चिया टिपाइ बन्दाबन्दीका कारण टिप्न नपाउँदा काटेर फ्याँक्नु परेको उनको भनाइ छ ।

क्लासिक तराई टी इन्डस्ट्रिजका सञ्चालकसमेत रहेका पौडेलले बन्दाबन्दी र लगातारको वर्षाका कारण चियाको मुना नै टिप्न नसकिएको जानकारी दिए । पौडेलको ६० बिगाहाको चिया बगानमा वार्षिक ५ लाख केजी हरियो चियापत्ती उत्पादन हुन्छ ।

तर, यस वर्ष ५० प्रतिशतले हरियो पत्तीको उत्पादन घटेको उनले बताए । नेपाल टी प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईं यसपटक चियाको भाउ बढ्नुमा उत्पादनमा आएको कमी र इलामबाट हरियो चिया दार्जिलिङका उद्योगहरूमा लुकीछिपी पुग्नुलाई कारण मान्छन् । उनका अनुसार पूर्वी नेपालबाट २० लाख किलो सीटीसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी हुँदै आएको छ । आजको आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij