२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउने सोमबार व्रत समापन

साउने सोमबार व्रत समापन

1.3K
Shares

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष महिनाका रुपमा मनाउने गरेका छन् । साउनको सबै सोमबार व्रत गर्नेले अन्तिम सोमबार बेलुकी वा मङ्गलबार बिहान विधिपूर्वक गोदान एवं पूर्ण पात्र गरी व्रत समापन गर्ने प्रचलन छ ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा.रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरेको बताउँछन् । परम्पराअनुसार कुनै कुल विशेषले चन्द्रमासअनुसार श्रावण महिनामा व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेषरुपमा शिवजीको आराधना गर्ने शास्त्रीय विधि रहेको उनले सुनाए । यस वर्ष साउन ५, १२, १९ र २६ गते गरी चारवटा सोमबार परेकामा हिजो अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गरिएको हो ।

नयाँ व्रत शुरु गर्ने पाँचवटा सोमबार परेको वर्षबाट शुरु गर्नुपर्छ भनी लोकमा गरिने व्यवहारमा शास्त्रीय मत नमिल्ने पनि अध्यक्ष गौतमले जानकारी दिए । शास्त्रीय मान्यताअनुसार चारवटा सोमबार परेको वर्षबाट पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।

साउने सोमबारको व्रत गरेमा यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त गरिने शिवपुराण लगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउने सोमबार र तीजको हरितालिका व्रत महिलाले मात्र गर्नुपर्ने भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः परिवारमा महिलाले सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन्छन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस, मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको पनि भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण बोलबम यात्रा भने विगत वर्ष जस्तो हुन सकेन । फाट्टफुट्टरुपमा भने भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि खुला रहेका शिवालयमा भने चढाएका छन् ।

भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । कतिपयले वर्षमा एकपटक साउन महिनामा घरमा वैदिक रुद्राभिषेक समेत गर्ने परम्परा छ । साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठूला शिवालय यस वर्ष कोरोनाको त्रासका कारण बन्द गरिएको छ । भक्तजनले भने बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गरेका छन् ।

अन्तिम सोमबार पशुपति परिसरमा उल्लेखनीय रुपमा भक्तजनको भीड देखिन्थ्यो । साउन ५ गते सोमबार पशुपति, गोकर्णेश्वरलगायत मन्दिरमा भक्तजनको भीड लागेको थियो । त्यसपछि कोरोनाको त्रास बढेपछि भक्तजन घटेको जनाइएको छ । कोरोनाको त्रास बढ्ने भयले दोस्रो सोमबारपछि राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर पनि बन्द गरिएको थियो । गोकर्णेश्वर मन्दिर परिसरमा पनि सोमबार भक्तजनको भीड देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij