२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गोङ्गबु हत्याकाण्ड : नशालु चक्की खुवाएर बेहोस बनाएर हत्या गरेको आरोपीको स्वीकार

गोङ्गबु हत्याकाण्ड : नशालु चक्की खुवाएर बेहोस बनाएर हत्या गरेको आरोपीको स्वीकार

3.7K
Shares

काठमाडौँ -टोखा नगरपालिका १० गोंगबुको गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको हत्या गरेर सुटकेशमा शव फाल्ने आरोपीलाई सोमबार प्रहरीले चितवनबाट पक्रेर काठमाडौँ ल्याएको छ ।
आफूलाई कल्पना शाही बताउने हत्या आरोपीको वास्तविक नाम कल्पना मुडवरी भएको खुलेको छ । कृष्णबहादुरसँग उनले सामाजिक सञ्जाल फेसबुकमा कमला पौडेलको नामबाट कुरा गर्थिन् ।

कल्पनाले शनिवार राती आफ्नो फ्ल्याटमा आएका कृष्णबहादुर बोहरालाई ‘आफैले मारेको’ बताएकी छिन् । प्रहरीसँग उनले हत्या गर्न कसैको सहयोग नलिएको दावी गरेकी छिन् ।

‘मलाई दुःख दिन आएपछि हत्या गरेको आरोपीको भनाइ छ,’ ‘शव व्यवस्थापनमा चाहिँ उनकी १६ वर्षीया छोरीले सहयोग गरेको खुलेको छ ।’

कृष्णबहादुरलाई स्लिपिङ ट्याब्लेट (नशा दिने चक्की) खुवाएको र बलात्कार प्रयास गरेपछि घुँडाले संवेदनशील अंगमा हिर्काउँदा ढलेको कल्पनाको दावी छ । उनले दावी गरेपनि प्रहरीको अनुसन्धानबाट सो तथ्य पुष्टि हुन बाँकी छ ।
मृत्युपछि बाथरुममा लगेर उनको खुट्टा र टाउको काटेर सुटेकश र जेब्रा झोलामा लगेर सडक किनारमा फालेको कल्पनाको भनाइ छ ।

प्रहरीले गोंगबु नवज्योती मार्गस्थित किरण बस्नेतको घरमा रहेको उनको फ्ल्याटबाट ह्यामर र मासु काट्ने प्रयोग गरिने दाउ बरामद गरेको छ ।

छोरा–छोरीसहित चितवन शक्तिखोरस्थित घरमा गएकी उनलाई चितवन प्रहरीसँगको समन्वयमा काठमाडौँ प्रहरीले टाँडीबाट पक्रेर काठमाडौँ ल्याएको छ ।
कल्पनालाई चितवन लैजाने एम्बुलेन्स चालकलाई समेत प्रहरीले मकवानपुरको हेटौंडाबाट नियन्त्रणमा लिएको ।

महानगरीय प्रहरी परिसर काठमाडौँ र अपराध महाशाखाले मंगलबार घटनाबारे जानकारी दिन संयुक्त पत्रकार सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij