२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने सीसीएमसीको निर्णय

कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने सीसीएमसीको निर्णय

1.1K
Shares

काठमाडौं – कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ सिल गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताए । भाद्र १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ । काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गरिने उनले बताए ।

बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सीसीएमसीले ठहर गरेको छ । यस्तो अवस्थामा संक्रमणलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij