काठमाडौं – एटीएम लगायत कुनै पनि अनलाइन कारोबार पूर्ण रुपमा निःशुल्क भएको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन अफ नेपाल र नेपाल वित्तीय संस्था संघले यस्तो कारोबारमा लाग्ने शुल्क अबदेखि पूर्ण रुपमा निःशुल्क गर्ने जनाएको हो ।
शुक्रबार तीनवटै संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै तीनवटा निर्णय सार्वजनिक गरेका छन् । जसअनुसार इन्टरनेट, मोबाइल लगायतका विद्युतीय माध्यमबाट हुने कारोबारमा कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै, नेपालभर रहेका कुनै पनि बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन भने नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएसको प्रयोग गर्दा पनि कुनै शुल्क लाग्ने छैन ।
उक्त सेवा अर्को सूचना जारी नभएसम्मका लागि लागु हुने समेत स्पष्ट पारिएको छ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि २५ जनाभन्दा बढी भेला हुन नपाउने व्यवस्था गरेको तथा अत्यावश्यकबाहेक कसैलाई पनि हिँडडुल नगर्न गरेका आग्रहलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको जनाइएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij