चितवन– चितवनको भरतपुरमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो ।
चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा अस्पताल बनाएको हो ।

अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो । आइसीयू र एचडीयू बेड तयार गर्न केही दिन लाग्ने भएपनि अन्य बेड बिहीबार नै तयार पारिएको छ ।

उक्त अस्पताल शुक्रबारबाट विरामी भर्ना गर्न मिल्ने तयार पारिएको हो । संक्रमित भइहाले अन्य मानिसमा नपुगोस् भनेर सतर्कता अपनाउन अस्थाई अस्पताल बनाउन लागिएको संघले जनाएको छ । कोरोनाको शंका लागेका विरामीलाई मात्र त्यहाँ राखिनेछ ।

भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले महानगरको उद्देश्य अनुसार निर्धारित समयमै अस्पताल निर्माण सम्पन्न गरिएको जानकारी दिइन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर दाहालले ५० वेड तयार भैसकेको भन्दै वाँकी आइसियु लगायतका बेड २,३ दिनभित्र तयार हुने जानकारी दिइन् । उनले उक्त अस्पतालमा भरतपुर महानगरपालिकाबाहेक देशभरका विरामीलाई सेवा प्रवाह गर्न सक्ने भन्दै अस्पताल निर्माणमा सहयोग गर्ने स्थानीय जनता, स्थानीय प्रशासन, सुरक्षाकर्मी र व्यवसायीहरुलाई धन्यवाद व्यक्त गरिन् ।

महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको अस्पतालमा आठ वटा भ्यान्टिलेटरका लागि प्रदेश सरकार र संघीय सरकारसँग कुराकानी भैरहेको मेयर दाहालको भनाइ छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij