२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दोहा बैंकबाट मेगा बैंकले सवा दुई अर्ब ऋण ल्याउने

दोहा बैंकबाट मेगा बैंकले सवा दुई अर्ब ऋण ल्याउने

590
Shares

काठमाडौँ- मेगा बैंकले कतारको दोहा बैंकबाट २ करोड अमेरिकी डलर (करिब २ अर्ब २५ करोड रुपैंया) ल्याउने भएको छ। आइतबार मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली र दोहा बैंकका नेपालस्थित कार्यालयका प्रमुख सुरजविक्रम शाहीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

दोहा बैंकले नेपालको बैंकमा लगानी गरेको यो पहिलोपटक हो। नेपाल राष्ट्र बैंकको स्वीकृति लगत्तै मेगा बैंकले यो रकम नेपालमा भित्राउने बताएको छ।

कुल प्राथमिक पूँजीको शतप्रतिशत रकम विदेशबाट व्यवसायिक ऋण ल्याएर नेपालमा लगानी गर्न पाइने नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार मेगा बैंकले दोहा बैंकबाट रकम ल्याउने प्रक्रिया थालेको थियो।

नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानी योग्यपुँजी (तरलता) अभावको समस्यालाई समेत मध्यनजर राख्दै दोहा बैंकबाट रकम भित्राउन लागेको मेगा बैंकले बताएको छ।

योसँगै बजारमा तरलताको अभाव अन्त्य भई सरल रुपमा कर्जा प्रवाह हुने र व्यवसायिक लगानीकर्ताहरुलाई राहत मिल्ने मेगा बैंकको विश्वास छ।

मेगा बैंकको अहिले देशभर १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ७९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २५ सय भन्दा बढी मेगा रेमिट एजेण्ट छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij