काठमाडौं– तपाई पत्याउनु हुन्छ । एउटा कार्यालय सहयोगीको सम्पन्ती १० करोड । कुनै पुखौली सम्पन्ती होइन । केवल मालमोल कार्यालयको सहयोगीको कमाइले उनको सम्पन्ती १० करोड भएको हो । यी सम्पती जोड्ने चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेत हुन । अख्तियारले उनलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।
बिहीबार अख्तियारले बस्नेत विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको भन्दै विज्ञप्ति जारी गरेको छ। अख्तियारका अनुसार, उनी र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ। त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाखको वैध स्रोत खुलेन। त्यो सम्पत्ति उनले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ।
त्यसैले उनलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै अख्तियारले विशेषमा मुद्दा हालेको हो। त्यसमाथि उनले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख जफत गर्न पनि अख्तियारको माग छ।
उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रूपैयाँमात्रै वैध रहेको अख्तियारले जनाएको छ।
बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए। अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको आय विश्लेषण गरेको थियो।
पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको हो।
उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ।
अख्तियारका अनुसार उनले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन्, ५ लाखको बीमा गरेका छन्। उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ। त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन्। उनको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ।
त्यस्तै उनले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ। यी सबैमध्ये ७४ लाख ७३ हजार मात्र वैध आय हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij