काठमाडौं सार्क मुलुकहरुमा लागुऔषध प्रयोगकर्ताका लागि स्वास्थ्य, मानवअधिकार तथा जोखिम न्युनिकरण प्रर्वद्धन विषयक तीन दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
होटल हिमालय कुपन्डोलमा भएको कार्यक्रममा नेपालसहित श्रीलंका, पाकिस्तान, भारत, माल्दिभ्स, भुटान र बंगलादेशबाट आएका लागूऔषधका बारेमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको कार्यक्रमलाई रिकभरिङ नेपालले संयोजन तथा एचआर एसिया, द ग्लोबल फन्ड र एलायन्स इन्डियाले सहयोग गरेको थियो ।
छलफल कार्यक्रममा एचआर एसियाको जोखिम न्युनिकरणबारे भएको प्रगती विवरण, सार्क देशहरुमा भएको लागुऔषध नीति नियम, कानुन, लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य अवस्था, मानवअधिकारका विषयमा विभिन्न देशबाट आएका प्रतिनिधिहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
समापन कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक रोशन पोखरेलले नेपाल सरकार लागुऔषध प्रयोगकर्ताबारे गम्भीर रहेको बताए । उनले अझै पनि लागुऔषध प्रयोगलाई रोगका रुपमा स्वीकार गर्न नसकेको र अपराधकै दृष्टिकोणले हेर्ने गरिएकाले पछि परेको बताए । पोखरेलले लागुपदार्थ प्रयोगकर्ताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि राज्यले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रम संयोजन गरिरहेको लागुऔषधका विषयमा काम गर्ने संस्थाहरुको सञ्जाल रिकभरिङ नेपालका कार्यकारी निर्देशक विष्णु शर्माले सहभागीहरु सबैलाई धन्यवाद दिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij