भक्तपुर – भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले नियुक्त गरेको अस्पतालको नयाँ मेडिकल निर्देशक र उपनिर्देशकले राजिनामा दिएपछि सोमबारबाटै भक्तपुर क्यान्सर अस्पतालका सेवा सञ्चालन भएको छ । पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल निर्देशकमा डा. दिपेश धिताल, मेडिकल उपनिर्देशकमा डा.अजयकुमार झा र डा.उत्सवमान श्रेष्ठलाई नियुक्त गरीएलगत्तै पदबहाली गर्न आएपछि आइतबार त्यसको विरोधमा भक्तपुर क्यान्सर अस्पताल तनावग्रस्त बनेको थियो ।
नवनियुक्त मेडिकल निर्देशकमा डा. धिताल, मेडिकल उपनिर्देशकमा डा.झा र डा.श्रेष्ठले सोमबार विज्ञप्ति प्रकाशित गरी आफूहरुले पाएको पद त्याग गरेको लिखित घोषणा गरी बिरामीको सेवामा समर्पित हुने, भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन एक भएका सबै कर्मचारीलाई साथ दिइ ऐक्यबद्धता जनाएको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए ।
पद त्याग गरेपछि आजबाटै अस्पतालको सबै सेवा सञ्चालन भएको र बिरामीलाई कुनै डर र सङ्कोच नराखी अस्पतालमा निर्धक्क भएर उपचारमा आउन आह्वान गरेको छ । त्यस्तै कर्मचारीले भ्रष्टाचारको छानविन गरेर कारवाही नगरेसम्म पुरानो व्यवस्थापन समितिका पदाधिकारीलाई प्रवेश निषेध गरेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij