काठमाडौं – एसियाली फुटबल महासंघ (एएफसी) ले नेपालका १४ वटै ‘ए’ डिभिजन क्लबलाई एएफसी क्लब लाइसेन्स नदिने निर्णय गरेको छ । एएफसीले तोकेको मापदण्ड नपुगेका कारण नेपालको सबै क्लबको लाइसेन्स निवेदन खारेज गरेको हो ।
एएफसीले हालै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘क्लब आइसेनिङ रेगुलेसन’ विपरीत कार्य गरेको भन्दै एन्फालाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको थियो । आर्थिक जरिवाना गरेको केही दिनमै एएफसीले सन् २०१९÷२०२० का लागि नेपालका कुनैपनि क्लबलाई लाइसन्स नदिने निर्णय गरेको हो । अघिल्लो सिजन एन्फाले एएफसीमा १४ वटा क्लबलाई लाइसेन्सका लागि एएफसीमा सिफारिस गरेको थियो । एन्फाले सिफारिस गरेको मध्ये नौ क्लबले लाइसन्स पाएका थिए ।
नेपालमा अहिले मनाङ मस्र्याङदी, थ्रीस्टार, नेपाल पुलिस, जावलाखेल युथ, संकटा, फ्रेन्ड्स, सरस्वती, हिमालयन शेर्पा, बिग्रेड ब्वाइज, त्रिभुवन आर्मी, एपीएफ, मछिन्द्र, न्युरोड टिम र च्यासल युथ गरी १४ वटा ‘ए’ डिभिजन क्लब छन् ।
एएफसीको पछिल्लो निर्णयले अब नेपालका क्बलले एएफसी कप लगायत शीर्ष स्तरको प्रतियोगिता खेल्न पाउने छैन । एएफसी लाइसेन्सका लागि क्लबको आफ्नै मैदान लगायत विभिन्न सुविधा हुनुपर्दछ । एएफसीले सन् २०१८ देखि क्लब लाइसेन्सको प्रावधान ल्याएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij