२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेटिनोब्लास्टोमा : आँखाको ज्योती मात्रै होइन ज्यान नै जान सक्छ

रेटिनोब्लास्टोमा : आँखाको ज्योती मात्रै होइन ज्यान नै जान सक्छ

910
Shares

काठमाडौं – पाँच वर्षमुनिका बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) को खतरा बढ्दै गएको छ । देख्दा सामान्य लाग्ने तर समयमा रोगको पहिचान हुन नसकेमा ज्यान नै जान सक्ने खतरनाक रोग हो रेटिनोब्लास्टामा ।

विशेषगरी ५ वर्ष भन्दा मुनिका बालबालिकाहरुमा देखा पर्ने यो रोग समयमा नै पत्ता लगाउन सकेमा उपचार सम्भव छ तर नेपालमा यो रोगको बारेमा आवश्यक जानकारी नहुनु र शिक्षाको कमिको कारण पनि धेरै बालबालिकाहरु आफ्नो ज्यान घुमाउन विवश छन् ।

शहरी क्षेत्रमा बस्ने भन्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिकाहरुले समयमा नै उपचार पाउन सकेका छैनन् । अभिभावकमा शिक्षाको कमि र अर्को आर्थिक अवस्था कमजोर भएको कारण उपचारका लागि अस्पताल जान सकेका छैनन् ।

नेपालमा आँखासंग सम्बन्धित रोगको उपचार राम्रो हुने भएपनि जनचेतना र पैसाको कमिको कारण समयमा उपचार गर्न नपाउदा बालबालिकाको जटील बन्ने गरेको चिकित्सकहरु बताउछन ।

बालबालिकामा लाग्ने आँखासंग सम्बन्धित रोगको बारेमा जानकारी नभएकै कारण बालबालिकाहरुको मृत्यु हुने गरेको छ । ती मध्ये बालबालिकामा लाग्ने रेटिनोब्लास्टोमा अर्थात आँखाको क्यान्सर पनि एक हो । परिवारका सदस्यहरु मध्ये सो रोग कसैलाई छ भने ४० प्रतिशत बच्चालाई हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । तर यो आफै पनि हुन सक्छ ।

बालबालिकामा यो रोग वंशाणुगत कारणले लाग्न सक्छ हामीमा हुने जिनमा नै रेटिनोब्लास्टोमा बनाउने र दबाउने तत्व ‍हुन्छ । जसमा रेटिनोब्लास्टोमा बनाउने जिन बढी सक्रिय भयो भने यो क्यान्सर देखिन्छ । तर समयमा नै रोगको समयमा उपचार भएमा रोगको प्रकृति अनुसार उपचार सम्भव हुन्छ । उपचार नभएमा बच्चाको मृत्यु समेत हुने चिकित्सकहरु बताउँछन् ।

तिलगंगा आँखा प्रतिष्ठानका अकुलोप्लाष्टिक सर्जन डा. बेन लिम्बुका अनुसार यो रोगको मुख्य लक्ष्यणहरुमा शिशुको आँखाको नानी सेतो देखिनु, आँखा डेडो हुुनु, असामान्य रुपमा आँखाहरु रातो हुनु र आँखा ठुलो हुुनु वा आँखा बाहिर निस्कनु जस्ता लक्षण रहेका छन् ।

डा. लिम्बुका अनुसार डिजिटल क्यामेरा वा मोबाइलले अध्यारो कोठामा बच्चाको फोटो खिच्ने र आँखाको नानी सेतो देख्नु सामान्य हो तर रातो नदेखिएर सेतो देखिएको खण्डमा चिकित्सकसंग परामर्श लिनु पर्छ ।

आँखाको अल्ट्रासाउड, आँखा तथा मस्तिष्कको सिटि स्क्यान वा एमआरआई गरेर पनि यो रोग पत्ता लगाउन सकिन्छ । उनका अनुसार १० देखी २० हजार शिशु मध्ये एकमा यस्तो रोग देखिने गरेको छ ।

नेपाल लगायत विकासोन्मुख देशहरुमा सो रोगबाट हुने मृत्युदर अधिकतम सख्या ७० प्रतिशत रहेको छ भने विकसित देशहरुमा १ प्रतिशत भन्दा कम रहेको छ तर नेपालमा मृत्युदर बढ्नुको मुख्य कारण भनेको जनचेतनाको कमि नै हो ।

काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा आफ्नो २ वर्षिय छोराको उपचार गर्न आएका झापाका एक दम्पतिले आफ्नो नाम नभन्ने शर्तमा भने – ‘सुरुमा खासै वास्ता गरिएन पछि बाबुको आँखा अन्य बच्चाको भन्दा फरक हुँदै गएपछि अस्पताल आयौै उसलाई रेटिनोब्लास्टामा भएको रहेछ । एउटा आँखा निकाल्नु प¥यो तर अर्को आँखामा उपचार गरेका छौं ।’

लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी गरी यो रोगको उपचार गरिन्छ तर उपचार गर्न ढिलो भइसकेका बिरामीका आँखाको डल्लो नै निकाल्नुपर्ने पनि हुन सक्छ । यसको उपचार खर्च २० हजार देखि ४ लाख सम्म खर्च लाग्ने चिकित्सकहरु बताउछन ।

नेपालको सन्दर्भमा चेतनासगंै आर्थिक अभावको कारण पनि उपचार नगर्ने गरेको र सुरुमा डाक्टरको सल्लाह नमान्ने पछि अन्तिम अवस्थामा आउँदा विरामी बचाउन नसकेको तीतो अनुभव डा. लिम्बु सुनाउँछन् ।

आँखाको प्लास्टिक शल्य चिकित्सा सम्बन्धी नेपाली चिकित्सक समाजले गत मे १२ देखि १८ सम्म विश्व रेटिनोब्लास्टोमा सप्ताहको रुपमा विभिन्न ठाउँहरुमा आँखा शिविर तथा जनचेतनाको कार्यक्रम गरेको समाजका महासचिव समेत रहेका डा. लिम्बुले जानकारी दिए । उनका अनुसार समाजले विभिन्न स्कुल तथा कलेजहरुमा यससंग सम्बन्धी ब्रोसरहरु बढेको थियो ।

डा.लिम्बु भन्छन् – बालबालिकाहरुको नियमित रुपमा आँखा परिक्षण गर्नु राम्रो हो ।

करिब एक वर्षमा देशभरका २७ आँखा अस्पतालमा ४० -५० जना यस सम्बन्धीत विरामी आउने गर्दछन् । आँखाको प्लास्टिक शल्य चिकित्सा सम्बन्धी नेपाली चिकित्सक समाजका महासचिव डा.लिम्बुको नेतृत्वमा अहिले देशभरका आँखा अस्पतालमा अहिले डाटा संकलनको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij