पर्वत– पर्वत जिल्लामा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोनाको उत्पादन मिति फेरि पनि लम्बिएको छ । वैशाखभित्रै विद्युत उत्पादन गर्ने बताइएपनि केही प्राविधिक कमजोरीका कारण असार पहिलो साता परीक्षण उत्पादन थाल्ने जनाइएको छ ।उक्त आयोजनाको ग्रिडकनेक्सन र टनेलमा देखिएको समस्याका कारण परीक्षण उत्पादन फेरी असार पहिलो साता पुगेको हो । निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको टनेल परीक्षणका क्रममा पानी चुहिएका कारण मर्मत भइरहेको छ । कुश्मा नगरपालिका–७ चुवाको परादीस्थित पावर हाउसदेखि मोदी गाउँपालिकाको पातीचौरसम्म खनिएको चार हजार २०० मिटर लामो टनेलको बीचबीचमा कमजोर भाग भेटिएको थियो ।
मर्मतको काम जेठको तेस्रो साताभित्र सकेर असार पहिलो सातामा परीक्षण उत्पादन गर्ने योजना रहेको आयोजना स्रोतले जनायो । टनेलको पक्की नगरिएको ठाउँमा पानी चुहिएपछि पहुँच मार्ग (अडिट टनेल) बाट पानी बाहिर आएको थियो । साउथ एशिएन लिमिटेडले सुरुङ निर्माणको काम गरेको थियो ।
यसैगरी पावरहाउसदेखि प्रसारण लाइनमा विद्युत् पठाउने तार छोटो काटिएकाले निर्माणकार्यमा ढिलाइ भएको जनाइएको छ । परादीस्थित पावरहाउस नजिकैबाट मोदीको पारितर्फ रहेको प्रसारण लाइनको टावरमा पठाउने विद्युत्को तार करीब सात मिटर छोटो भएको थियो ।
आयोजनाले तारको दूरी नाप्ने इञ्जिनीयरको सानो कमजोरीले २० मेगावाटको आयोजनालाई लाखौँ नोक्सान हुने जनाएको छ । आयोजनाले भित्री र बाहिरी पूर्वाधारको काम सकेपछि पावरहाउसदेखि प्रसारण लाइनसम्म पु¥याउने तार टाँग्ने काम गत फागुन पहिलो साता सक्ने लक्ष्य लिएको थियो ।
२०६९ साउनमा निर्माण शुरु गरिएको सो आयोजनाको उत्पादन लक्ष्य २०७४ असारसम्म थियो । आयोजनाले प्राकृतिक, मानवीयलगायत कारण देखाउँदै यसअघि धेरैपटक उत्पादन मिति सारेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij