काठमाडौं- निजी लगानीको वायुसेवा कम्पनी यती एयरलायन्सले चौथो एटिआर ७२–५०० जहाज थपेको छ । जहाज संख्यासहित सेवा विस्तार गर्ने क्रममा एटिआर जहाज भित्र्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आन्तरिक उडानतर्फ ठूला विमानस्थलमा उडाउने गरी पछिल्लो समय ठूलो क्षमताका जहाज भित्र्याइरहेको छ ।
शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको यो जहाजको उत्पादन क्रमसंख्या ‘एमएसएन ७५४’ तथा नेपाली दर्ता नं. ‘९एन–एएनसी’ रहेको छ । शुक्रबार थाइल्यान्डको राजधानी बैंकक हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ । नेपाल भ्रमण वर्ष २०२० मा सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जहाज थप भएसँगै यस लक्ष्यप्राप्तिमा सहयोग पुग्ने कम्पनीले उल्लेख गरेको छ ।
यो जहाज ‘फ्रान्सको–इटालियन एयरक्राफ्ट म्यानिफ्याक्चर्सको कन्सोर्टियम (एटिआर)’ द्वारा निर्माण भएको हो । यस जहाजमा दुईवटा इन्जिर रहेका छन् । अत्याधुनिक प्रविधियुक्त यो जहाजका इन्जिन र प्रोपेलरको उत्कृष्ट प्रदर्शन, इन्धन बचत, आवाजको कमी र कम ग्रिन हाउस ग्यास उत्सर्जनजस्ता विशेषता रहेको कम्पनीको दाबी छ ।
यतीले सन् १९९८ देखि नेपालमा व्यावसायिक उडान थालेको हो । नयाँ जहाज आएसँगै अब कम्पनीसँग ‘एटिआर वाई जे४१ विमान ५ वटा, एटिआर ७३ र कम्पनीको भगिनी संस्था तारा एयरसँग दुईवटा डोर्निओर डिओ २२८ जहाज सञ्चालनमा छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij