काठमाडौं -नेपाल पत्रकार महासंघले सत्तारुढ नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्रीपुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रेस स्वतन्त्रतामाथि हुने गरेका हस्तक्षेप रोक्न माग गरेको छ।
आइतबार विहान महासंघका अध्यक्ष गोविन्द आचार्यको नेतृत्वमा प्रचण्ड र देउवा निवास पुगेर पत्रकार महासंघले १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो। पत्रकारहरुमाथि ज्यादती बढेको भन्दै नरोके आन्दोलन गर्ने चेतावनी पत्रकार महासंघले दिएको छ।
साथै महासंघले कानुनबाट प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु सच्याउन पनि माग गरेको छ।
महासंघका महासचिव रमेश विष्टले १६ बुँदे ध्यानाकर्षण पढेर सुनाएपछि अध्यक्ष दाहालले सरकार र पार्टीमा पनि पत्रकार महासंघले राखेका मागबारे छलफल गर्ने प्रतिवद्धता जनाएका छन्। पत्रकारले उठाएका माग र हकहितका लागि सहयोग गर्ने दाहालको भनाइ छ।
त्यसैगरी सभापति देउवाले प्रेस स्वतन्त्रताका पक्षमा नेपाली कांग्रेसले लड्दै आएको र अब पनि लड्ने बताए। ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस लड्दै आएको छ, लड्छ,’ देउवाले पत्रकारहरुसँग भने।
महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा ‘विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर्नुपर्छ,’ भनिएको छ।
साथै महासंघले राष्ट्रिय मिडिया प्राधिकरण गठन गर्न माग गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij