२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट जोडियो

अन्तरीक्ष केन्द्रमा नेपाली स्याटलाइट जोडियो

2.1K
Shares

काठमाडौं–अन्तरीक्षका लागि प्रक्षेपण गरिएको नेपालको आफ्नै भूउपग्रह ‘नेपाली स्याटलाइट वान’ पृथ्वीको तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले सोमबार ललितपुरको खुमलटारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी सो स्याटलाइट वान पृथ्वीको सतहबाट ४ सय किलोमिटर उचाईमा रहेको पृथ्वीलाई परिक्रमा गने तल्लो कक्षमा अवस्थित अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा जोडिने कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएको हो ।

जापानमा विद्यावारिधि गरिरहनु भएका नेपाली बैज्ञानिकद्धय आभास मास्के र इन्जिनियर हरिराम श्रेष्ठले निर्माण गरेको सो नेपाली स्याटेलाइट वान गत बैशाख ५ गते नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा अमेरिकाको भर्जिनियास्थित नासाको रकेट प्रक्षेपण केन्द्रबाट अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रका लागि पठाइएको थियो । सो स्याटलाईट ३६ घण्टा ४० मिनेटपछि बैशाख ६ गते नेपाली समय अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा जोडिन सफल भएको नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढंगेलले जानकारी दिए ।
अवको करिव डेढ महिना पछि सो नेपाली स्याटलाईटले अन्तरीक्षमा रही पृथ्वीको परिक्रमा गर्नुका साथै प्रतिष्ठानमा निर्माण गर्न लागिएको ग्राउन्ड स्टेशनमा समेत सम्पर्क स्थापित गर्नेछ ।

नाष्टले सो नेपाली स्याटलाईट अन्तरिक्षमा प्रक्षेपणका लागि करिव २ करोड लाग्ने अनुमान पनि गरेको छ । नाष्टका प्रवक्ता ढुंगेलले उक्त रकम अर्थ मन्त्रालयबाट प्राप्त भईसकेको पनि जानकारी दिए ।
विपद् व्यवस्थापन, ग्रामिण भेगमा सूचना प्रविधिको विकासका समेत उपयोगी हुने भएपछि नेपालले आफ्नै स्याटलाईट अन्तरिक्षमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij