विराटनगर– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वर्तमान पार्टी सभापति शेरबहादुरले आफ्नो कार्यकाल अढाई वर्ष लम्ब्याउनका लागि १४औँ महाधिवेशन समयमै गराउन बाधक बनेको बताएका छन् ।
सोमबार विराटनगरस्थित कोइराला निवासमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले भने – ‘हाम्रो कार्यकाल अब एक वर्षमात्र बाँकी छ तर सभापति देउवा भने महाधिवेशन समयमै गराउनुको साटो दुई वर्ष थप्ने दाउमा हुनुहुन्छ ।’ सभापति देउवाकै कारण पार्टी कमजोर बनको बताउँदै संगठनमा भएको जथाभावीको विषय लिएर आफू कार्यकर्तामाझ जाने नेता कोइरालाले बताए ।
कोइरालाले सरकारका क्रियाकलापहरू जनविरोधी देखिएको टिप्पणी गरे। भ्रष्टाचार झन् बढेको, मिडियालाई नियन्त्रण गर्न खोजिएको, वाइड बडी प्रकरणलाई सरकारले नै कमजोर बनाएको र नेपाली सेनालाई बदनाम गर्न सरकार नै उद्दत रहेको टिप्पणी गरे। भने, ‘वाइड बडीमा जो–जो तानिए पनि कारबाही हुनुपर्छ। अब अख्तियारले कसरी काम गर्छ भन्ने जनताको पर्खाइ छ।’
उनले नेतृत्वकै कारण कांग्रेसको संगठन शून्य बनेको बताउँदै यसको जिम्मा लिनुपर्छ भन्दा अनुशासनको कार्वाही गर्ने चेतावनी दिने गरेको सुनाए । कांग्रेस पार्टी कोइरालाहरुको मात्र नभएको र सबैको योगदान र रगतले निर्माण भएको डा.कोइरालाले बताए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij