काठमाडौं -काठमाडौंको ठमेलमा केही समयअघि सञ्चालनमा आएको छाँया सेन्टर बिबादमा तानिएको छ ।
गएको पुस १० गते देखि सञ्चालनमा आएको यो सेन्टरमा करिब ३० जना नेपालीको साढे पाँच अर्ब भन्दा बढी लगानीमा निर्माण भएको सेन्टरका विषयमा स्थानीयले बिरोध गर्न थालेपछि विवादमा तानिएको हो।
छायाँ सेन्टरलाई केही स्थानीयले आक्रमणको निशाना बनाएर बिरोध गर्न थाले पछि संचालकले मंगलबार पत्रकार सम्मेलन गरि धारणा स्पष्ट परेको छ।
ठमेल भित्रको ठमेलका रूपमा आएको ठूलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र बनाउँदै आक्रमण गरिरहेको सेन्टरका प्रबन्ध निर्देशक महेश्वर श्रेष्ठले बताए।
सरकारी निकायबाट पुरा गर्नुपर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ आफूहरुले बुझ्न नसकेको पनि श्रेष्ठले बताए।
पर्यटकीय व्यवसायीक गन्तव्यका रुपमा छायाँ सेन्टर सञ्चालनमा ल्याइएको ब्यबस्थापन समूहले बताउदै आएको छ।
‘ठमेल भित्रको ठमेलका रुपमा आएको ठुलो योजनामा केही व्यक्तिको स्वार्थले अहिले गलत प्रचारलाई तिब्र पारिएको छ । पैसा तिरेर जग्गा किनेर प्रोजेक्ट अघि बढाउँदा हामीलाई किन तारो बनाइदैछ भन्ने कुरा यस अघिका केही आयोजनामा भएको घटनाक्रमले पुष्टि गर्छ, पत्रकार सम्मेलनमा’ श्रेष्ठले भने।
‘सरकारी निकायबाट पुरा गर्नु पर्ने सबै प्रकृया सकेर निर्माण गरिएको छाँया सेन्टरलाई एकाएक किन आक्रमण गरिँदैछ ? जग्गा किनेको ६ वर्ष पछि कम्प्लेक्स निर्माणको काम थाल्नु पहिले अहिले हल्ला गर्नेहरु किन मौन बसे ? हामीले २ वर्ष लगाएर वातावरणीय प्रभाव मूल्यांकन तथा सार्वजनिक सुनुवाई गरेर छिमेकी तथा साँधसँधियारसँग सम्झौता गरी निर्माण थालिएको आयोजनालाई अहिले धारे हात लगाइनु आश्चर्यको विषय बनेको छ,’ पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘पहिले सिधै चन्दाको विषय आउँथ्यो अहिले गलत प्रचारबाट स्वार्थ पुरा गराउने समुहहरु हाबी भएको कुरामा दुई मत छैन । समयले त्यस्ता व्यक्तिलाई आफैं परिचित गराउनेमा हामी विश्वस्त छौं।’
‘यसरी नियोजित रुपमा केही व्यक्तिले अघि सारेको स्वार्थको विषयलाई सबै पक्षले किन महत्वका साथ समर्थन गरिरहेका छन् भन्ने कुराले हाम्रो ध्यानाकर्षण भएको छ । कानुन अनुसार निर्माण सम्पन्न भईसकेको र राज्यलाई करोडौं रुपैंया राजश्व तिरेका हामीले पैसा तिरेर जग्गा किनेका हौं। इतिहासका पाना पल्टाउनेहरुलाई हामी प्रश्न गछौं कि हाम्रो गल्ती कहाँ भयो, ?’ श्रेष्ठले प्रश्न गरे।
यस कम्प्लेक्समा स्टार स्तरको होटलसहित तीन वटा मल्टिप्लेक्स थिएटर छन्। साथै यस सेन्टरमा विभिन्न सामाग्रीका पसल, एयरलाइन्सका शाखा कार्यालय, ट्राभल एजेन्सी, ब्याक्वेट हल, सेमिनार हल , रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायतका सुविधाहरु उपलब्ध छन्।
बिभिन्न बैंकका कर्पोरेट शाखा कम्पनीहरुका कर्पोरेट कार्यालयहरु छायाँ सेन्टरमा खुल्न थालेका छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij