२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

भारतको कलकत्तामा फेला पर्यो ३३ किलो सुन, गोरेको हराइरहेको सुन नै भएको दाबी

1.9K
Shares

काठमाडौं– सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’को समूहले गत माघमा त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलबाट पास गराएपछि  हराएको भनिएको ३३ किलो सुन भारतको कलकत्तामा फेला परेको छ । 

दुईजना नेपाली नागरिकबाट ३३ किलो सुन भारतमा भेटिएको पुष्टि गर्दै तत्कालिन सुन तस्करी छानविन समितिका संयोजक सह–सचिव ईश्वरराज पौडेलले रातोपाटीसँग भने, ‘सुन भेटिएको भन्ने आएको छ, धरान–इटहरीका बासिन्दाबाट नै उक्त सुन बरामद भएको सूचना आएको हुनाले उक्त सुन हामीले अनुसन्धान गरेको ३३ किलो हो भन्ने बुझिएको छ ।’ 

कलकत्ता प्रहरीले हेमप्रसाद शर्मा र राकेश प्रसादको साथबाट बरामद गरेको सुन ‘गोरे’ समूहको हो या होइन भन्नेबारे भेरिफाई गर्ने काम भइरहेको सह–सचिव पौडेलले जानकारी दिए । 

कलकत्ता प्रहरीले २१ शुक्रवार उक्त सुन बरामद गरेको बताइएको छ ।

यसरी हराएको थियो सुन
 फ्लाई दुबईको विमानबाट आएको ३३ किलो सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाई ह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति थिए एलबी मगर ।

 २०७४ माघ ९ गते विमानस्थलमा सुन आईपुग्यो, तर एलबी आउन पाएनन् । त्यसपछि सुन तस्करका नाइके चुडामणि उप्रेति ‘गोरे’ ले उक्त सुन पुरानोबानेश्वर सम्म लगेर छाड्ने जिम्मा सानु बनलाई दिए । 
सानु तिनै हुन् जसले गएको माघ २२ गते विमानस्थलमा गुड्दै गरेको ट्याङ्करको चक्कामा ठोक्किएर आत्महत्या गरेका थिए । 

५५ वर्षीय  सानु बन थाई एयरवेजका बरिष्ठ टेक्निसियन हुन् । 

सानु बन स्कुटरको पछाडी थिए, स्कुटर चलाउने ब्यक्ति अर्कै थिए । सुन बोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कूलमा पुगेको मात्र के थियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेर सुन लुटिएको जानकारी गराएका थिए । 

‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन्, अनि बनलाई रातदिन टर्चर दिन थाले । ‘संगठीत रुपमा भएको सुन तस्करी र सनम शाक्य हत्या प्रकरण’ छानविन गर्न बनेको समितिका एक सदस्यका अनुसार समितिले सानु बनलाई टर्चर दिएको भिडियो नै त्यतिबेला फेला परेको थियो । 

हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवन नै सिध्याउने धम्की दिन थालेपछि बनले आत्महत्याको बाटो रोजेको हुनसक्ने छानविन समितिका एक सदस्य बताउँछन् । माघ २२ गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङ इक्विपमेन्ट राख्ने स्थान नजिकै गुडिरहेको इन्धन बोक्ने एआर–२७ नम्बरको ट्याङ्करमा दौडिएर उनी चक्कामूनि पसेको सिसिटीभी फुटेजमा देखिन्छ । 

फागुन १८ गते धरानमा यातना दिने क्रममा मारिएका मोरङको उर्लाबारी–७ का सनम शाक्य सुन तस्कर ‘गोरे’को एकाउन्टेन्ट बताइँदै आएको छ । 

छानबिन समितिले सो प्रकरणमा ९ प्रहरी अधिकारीसहित ६३ जना भन्दा बढीविरुद्ध जिल्ला अदालत मोरङमा दायर गरेको थियो । सो मुद्दा अहिलेपनि अदालतमा विचाराधीन अवस्थामा रहेको छ ।  @ Ratopati

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij