
अर्थ नेपाल काठमाडौं/ निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख विष्णुबाबु मिश्रलाई सर्वोच्च अदालतले पुनर्बहाली गर्ने आदेश दिएको छ।
देउवा नेतृत्व सरकारले गरेका नियुक्ति फिर्ता लिने सरकारको निर्णयका आधारमा हटाइएका थियो ।
बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको इजलासले उनलाई कोषको प्रमुखकै रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो। यसअघि नै सर्वोच्च अदालतले उनलाई हटाउने निर्णय साउन २ गतेसम्म लागू नगर्न भनेको थियो।
‘निवेदक विष्णुबाबु मिश्रका हकमा मन्त्रिपरिषद्को निर्णय, अर्थमन्त्रालयको निर्णय र पत्र कार्यान्वयन नगर्नू र नगराउनू, निवेदकलाई यथावत काम गर्न दिनु भनि यस अदालतका एक न्यायाधीशको इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गरिएको छ,’ उक्त इजलासको आदेशमा उल्लेख छ।
असार ३ को मन्त्रिपरिषद् बैठकले चुनावको आचारसंहिता लागू भएको भदौ १४ देखि फागुन २ गतेसम्मका नियुक्ति फिर्ता लिने निर्णय गरेको थियो।
गएको असोज अन्त्यतिर कोषको प्रमुखमा नियुक्त भएका मिश्रलाई मन्त्रिपरिषद्को सोही निर्णय कार्यान्वयनका लागि हटाइएको पत्र अर्थ मन्त्रालयले असार २२ गते थमाएको थियो।
आफू प्रतिस्पर्धाका आधारमा कोषको प्रमुख बनेको र सरकारले आफ्ना कुरा राख्ने मौकासमेत नदिइ हटाएको भन्दै पुनर्बहालीका लागि उनी सर्वोच्च अदालतल गएका थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij