
अर्थ नेपाल पोखरा / पोखरामा महिला उद्यमी मेला–२०७५ सुरु भएको छ । पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा चार दिनसम्म चल्ने मेलाको बुधबार प्रदेश नम्बर ४ की कार्यबाहक सभामुख सृजना शर्माले उद्घाटन गर्नुभयो ।
‘आर्थिक सम्वृद्धिका लागि महिला उद्यमशीलता’ भन्ने नाराका साथ सुरु भएको मेलामा रहेका करिब ७० वटा स्टलहरुमा देशैभरका महिला उद्यमीहरुको उत्पादनहरु बिक्री तथा प्रदर्शनीमा राखिएका छन् । महिलाहरुद्धारा संचालित लघु उद्योग, हस्तकला, ढाका कपडा उद्योगबाट उत्पादित खाद्य, घरायसी एवं लत्ताकपडाहरु मेलाको आकर्षण बनेका छन् । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यमी विकास उपसमिति मेलाको आयोजक हो । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति तथा नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास उपसमितिले पनि मेला आयोजनामा सघाएका छन् ।
महिला उद्यमशिलतालाई प्रवद्र्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवं ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध बिस्तार गरी ब्यवसायीक अनुभव आदान प्रदानका साथै महिला उद्यमीलाई कर शिक्षा, लेभलिङ्ग, प्याकेजिङ्ग, एव व्यवसायि स्याथीत्वको बारेमा ब्यावसायिक विज्ञद्धारा प्रशिक्षण दिएर सवल सक्षम बनाउन मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक सीता बरालले जानकारी दिनुभयो ।
मेलाको उद्घाटन गर्दै प्रदेश नम्बर ४ का कार्यबाहक सभामुख सृजना शर्माले अहिलेको संविधानले केही सुहाउने र केही नसुहाउने गरी महिलालाई धेरै नै राजनीतिक अधिकार दिएको जिकिर गर्नुभयो । सुहाउने र नसुहाउने अधिकार के हो भन्नेबारे केही नभने पनि उहाँले हरेक क्षेत्रमा महिला सहभागिताको लागि महिला स्वयं नै क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । आर्थिक सम्वृद्धि नभए महिलाहरु राजनीति र अन्य कुनै पनि क्षेत्रमा सफल हुन नसक्ने तर्क गर्दै उनले महिलाहरुलाई उद्यमशील बन्न आग्रह पनि गर्नुभयो ।
महिलाहरुद्धारा उत्पादित बस्तुहरुको बजारीकरण, सहुलियत दरमा ऋण प्रदान तथा साना उद्योग प्रवद्र्धनको लागि तीनै तहका सरकारले विशेष व्यवस्था गर्नुपर्नेमा उहाँ जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जग्गाको भाउ बढेकाले अहिले महिलाले मात्र हैन, जो कोहीले पनि जग्गा किनेर उद्योग राख्न गाह्रो भएको बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण तथा विशेष आर्थिक क्षेत्र निर्माणबारे बजेटमा केही व्यवस्था भए पनि त्यसको छिटो कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड रहेको थियो ।
बैंकहरुको बढ्दो ब्याजले उद्योग÷व्यवसाय गर्न अप्ठेरो परेको बताउँदै उहाँले ब्याजदर नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले महिलाहरुलाई निरन्तर व्यवसायमा लाग्न र हतोत्साही नहुन पनि सुझाउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघको महिला उद्यमी विकास उपसमितिको संयोजक सीता बरालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुर कोइरालाले प्रदेशलाई सक्षम बनाउन तथा देशको अर्थतन्त्र माथि उकास्नको लागि महिला उद्यमशीलता बढ्नुपर्नेमा जोड दिनुभयो ।
मेलामा हरेक दिन बिहान १० बजेबाट महिला उद्यमशीलतासम्बन्धमा सेमिनार आयोजना गरिएको छ भने बिहीबार र शुक्रबार र शनिबार निःशुल्क आँखा परीक्षण तथा शुक्रबार पाठेघर तथा स्तनको क्यान्सरको परीक्षणलगायतका कार्यक्रमहरु पनि राखिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij