
अर्थ नेपाल काठमाडौं /बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीको कारणले यात्रा गर्न वा कही जानको लागि मोटरसाइकलको प्रयोग महत्वपूर्ण साधन भएको छ । शहर होस् या ग्रामीण क्षेत्र, हरेक क्षेत्रमा युवावर्गहरूमा बाइकको क्रेज बढ्दो छ । नेपाली बजारमा अहिले नयाँ नयाँ मोटरसाइकलहरु आयात भइरहेको छ । मोटरसाइकलको प्रयोग जति बढ्दै जान्छ त्यति नै सडक दुर्घटना हुने सम्भावना बढ्दै गएको हुन्छ । नेपालमा हरेक दिन जसो कुनै न कुनै सवारी दुर्घटना भइरहेको समाचार आइरहेको हुन्छ । बढ्दो दुर्घटनाबाट बच्नको लागि निम्न उपाय अपानाउनु राम्रो हुन्छ ।
१. हेलमेटको प्रयोग
मोटरसाइकल चलाएको समयमा आफ्नो टाउको सुरक्षित राख्नु जरुरी छ । अधिकांश सडक दुर्घटनामा हुने मृत्युको कारण टाउकोमा गम्भीर चोट लाग्नु रहेको छ । त्यसैले यात्रा गर्दा जहिले पनि राम्रो गुणस्तरको हेलमेट प्रयोग गर्नु उचित हुन्छ । सुरक्षाको लागि बाइक चलाउँदा जहिले पनि हेलमेट लगाउनु अति आवश्यक छ ।
२. साइड स्ट्यान्ड
बाइक स्टार्ट गरिसके पछि साइड स्ट्यान्ड चेक गर्नु पर्छ । हुन त यो सानो कुरा हो तर पनि सुरक्षाको दृष्टिले साइड स्ट्यान्ड चेक गर्नु धेरै महत्वपुर्ण विषय हो । हतारमा भएर वा सानो कुरा मानेर यसलाई मानिसहरु त्यति ध्यान दिएका हुँदैनन् । तर कैयौं चोटी दुर्घटना साइड स्ट्यान्डको कारणले पनि हुने गरेको छ ।
३. बायाँ तर्फबाट सवारी चलाउनु
खाली सडकमा मनोमानी ढंगले बाइक चलाउनु पनि खतरा हुन सक्छ । सडक चाहे जति नै खाली भए पनि सवारी जहिले पनि बायाँबाट चलाउनु पर्छ । किनकि बाइक चलाउँदा कहिलेकाही होसै नहुने गरि पछाडिबाट कुनै पनि सवारी साधन आउन सक्छ । जसको कारण दुर्घटना हुने सम्भावना बढी हुन्छ ।
४. बायाँबाट कहिले पनि ओभरटेक नगर्नु
बायाँ साइडको बाटो जतिसुकै खाली भए पनि कहिले पनि बायाँ तर्फबाट ओभरटेक गर्नु हुँदैन । किनकि जुन साधनलाई ओभरटेक गर्न खोजेको हुन्छ त्यो साधन कुनै पनि समयमा बायाँ मोडिन सक्छ । यो समयमा बाइक चपेटामा पर्न सक्छ र दुर्घटना हुन सक्छ ।
५. प्रतियोगी नबनौ
बाइक चलाउँदा कहिलेकाही कुनै मोटरसाइकल वा कार आफू भन्दा स्पिडमा गुडेको देखर उत्साहित भएको पाइन्छ । त्यसलाई उछिनको लागि प्रतियोगिता समेत गरेको पाइन्छ । यस्तो कार्य कहिल्यै गर्नु हुँदैन । किनकि यस्तो गर्नु घातक हुन सक्छ ।
६. इन्डिकेटरको संकेत
सडकमा बाइक मोड्नु परेमा पहिला इन्डिकेटरले संकेत दिनु आवश्यक छ । यसले आफ्नो अगाडि वा पछाडिबाट आएको कुनै पनि साधनलाई तपाई मोडिने संकेत मिलेको हुन्छ र त्यसले सावधानी अपनाएको हुन्छ । मोड्नु परेमा जहिले पनि साइड मिरर हेरेर मात्र मोड्नु पर्छ ।
७. तनावमा ड्राइभिङ नगर्नु
तनाव भएको वेलामा कहिले पनि ड्राइभिङ गर्नु हुँदैन । किनकि तनावको समयमा ड्राइभ गर्दा कहिले पनि ड्राइभिङमा पूरा ध्यान हुँदैन जसले दुर्घटना निम्त्याउन सक्छ ।
८. मोबाइलको प्रयोग
ड्राइभिङको समयमा मोबाइलको प्रयोग गर्नु ट्राफिक नियम उल्लंघन गर्नु हो । ड्राइभिङको समयमा मोबाइलको प्रयोग गर्नु धेरै खतरनाक हुन्छ । मोबाइलमा कुरा गर्दा कुरामा ध्यान हुने र ड्राइभिङगमा ध्यान नहुने भएकोले दुर्भाग्यवश कुनै दुर्घटना हुन सक्छ । त्यसैले सवारी चलाउँदा कहिल्यै पनि मोबाइल फोनमा कुरा गर्नु हुँदैन र यदि गर्नु नै परेमा सडक किनारामा सवारी रोकेर मात्र कुरा गर्नु पर्छ ।
९. सडकमा रोकिरहेको गाडीमा ध्यान
बाइक चलाएको समयमा कहिले पनि सडक किनारा रोकिराखेको गाडीको नजिकबाट चलाउनु हुँदैन । किनकि गाडीको चालकले कुनै पनि समयमा गाडीको ढोका खोल्न सक्छ वा गुड्न सक्छ ।
१०. दुबै ब्रेक सँगै लगाउनु
बाइक चलाएको समयमा सबैभन्दा राम्रो दुबै ब्रेक एकै साथ समाउने कोशिश गर्नु हो । किनकि दुबै ब्रेक एक साथ लगाउनाले मोटरसाइकल चिप्लने सम्भावना कम हुन्छ ।
११. नियम पालन गर्नु
अधिकांश दुर्घटना यातायात नियमको पालना वा सावधानी नअपनाउनुको कारण भएको पाइन्छ । बाइक चलाउँदा यातायातको नियममा ध्यान दिनाले पनि दुर्घटनाबाट बच्न सकिन्छ । ट्राफिक नियमको पालना गर्नु र जक्सनमा स्पिड कम गर्नु वा आवश्यक परेमा रोक्नु राम्रो हो ।
१२. विस्तारै चलाउनु
सडकमा जहिले पनि बाइकको स्पिड ट्राफिक नियमद्वारा निर्धारित गरेको स्पिडको हिसाबले चलाउनु पर्छ । कहिल्यै पनि स्पिड लिमिट क्रस गर्नु हुँदैन । सुरक्षाको हिसाबले स्लो गाडी चलाउनु एक सही तरीका हो । ओभर स्पिड वा रफ ड्राइभिङ दुर्घटनाको कारण हुन सक्छ ।
१३ बाइक मेन्टिनेन्स
बाइकको नियमित रुपमा सर्भिसिङ गराउनु पर्छ । सबै पार्ट्सको सही तरिकाले जाँच गराउनु पर्छ । सर्भिसिङ गर्दा बाइकका सम्पूर्ण पार्टस्ले सही तरिकाले काम गरेको हुन्छ । लामो दुरीको यात्रा गर्दा जहिले पनि बाइकको सर्भिसिङ गराउनु पर्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij