
काठमाडौं/नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर पश्चात कमसल धितो राखेर कृत्रिम ऋणीलाई कर्जा प्रवाह गर्ने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका १३ उच्च अधिकारीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तत्कालिन एपेक्स बैंकका अध्यक्ष विष्णु प्रसाद धिताल, संचालकहरु ईच्छा बहादुर गुरुङ, सवर्ण राज भण्डारी, मधुवन लाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, बरिष्ठ प्रवन्धक दुर्गादत्त जोशी, सहायक महाप्रवन्धक रामचन्द्र बसौला, लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मान बहादुर राउत, सहायक महाप्रवन्धक विनित मणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदीप थापा रहेका छन् ।
एनसिसी बैंकसँग २०७२ मंसिर दोस्रो साता मर्जरमा जाने सहमतीमा हस्ताक्षर गरेपछी मर्जरको फाईदा उठाउँदै तत्कालिन एपेक्स बैंकको दरबारमार्ग, लोकन्थली, ईटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट उच्च अधिकारीको मिलेमतोमा अनियमित कर्जा प्रवाह भएको बताईएको छ । केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार बैंकका जिम्मेवार अधिकारीहरुले भिरालो पाखोबारी तथा बाटो नपुगेको जग्गाको अधिक मूल्याङ्कन गरी कृतिम ऋणिहरुको नाममा समेत कर्जा प्रवाह गरेर बैंकलाई एक अर्ब पचास करोड ९६ लाख हानी पुर्याएका थिए ।
यसरी बैंकिङ कसुरमा संलग्नहरुलाई शुक्रवार राजधानीका विभीन्न स्थानहरुबाट नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा सजाय ऐन–२०६४ बमोजिम अनुसन्धान शुरु गरिएको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
मुख्य अनियमितताहरु
– कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
– कृतिम ऋणीहरु खडा गरिएको ।
– निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
– ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
– मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
– धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
– कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
– कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
– सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
– एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
– सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
– अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको । – Ratopati
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij